
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका-११, बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
बुधबार राति करिब ९ बजे लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका-४, सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका १३ जनामध्ये आठ जनालाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । रिफर हुनेमा विनयी त्रिवेणी गाउँपालिका-४ का रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा, युवराज चौधरी, अश्विन चौधरी र निर्मल चौधरी रहेका छन् ।
अन्य घाइतेमध्ये सुमेन्द्र चौधरी र आदिश आले उपचारपछि डिस्चार्ज भएका छन् । प्रिन्स विक मध्यबिन्दु प्रादेशिक अस्पताल तथा खेमनारायण चौधरी र घनश्याम चौधरी सेवा मेडिकल अरुणखोलामा उपचारपछि डिस्चार्ज भएका छन् ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।