बुटवलमा बिचौलियाको काम गर्ने सात जना प्रहरी नियन्त्रणमा

दियोपोस्ट संवाददाता

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवलमा बिचौलियाको काम गरिरहेको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिका-१३ स्थित यातायात व्यवस्था कार्यालय रुपन्देहीको परिसरमा बिचौलियाको काम गरिरहेका सात जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरूमा गुल्मीको मालिका गाउँपालिका-५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका-१३ का ४३ वर्षीय लक्ष्मी खनाल र ६२ वर्षीय खेमलाल भुसाल रहेका छन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिका-६ का ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका-१ का ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका-१ का ५३ वर्षीय प्ररमध्वज श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले यातायात कार्यालयलगायतका सार्वजनिक सेवा प्रवाह हुने कार्यालयमा बिचौलियामार्फत हुने गतिविधि नियन्त्रण गर्न अनुसन्धान अघि बढाएको जनाएको छ ।