नेशनल मेडिकल कलेजमा नवजात शिशुको मृत्युपछि तनाव, लापरबाहीको आरोप लगाउँदै आफन्तद्वारा प्रदर्शन

दियोपोस्ट संवाददाता

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

बाराको कलैया उपमहानगरपालिका-२२ मदिलवा टोल निवासी सन्दीप साहका १८ दिने शिशुको मंगलबार दिउँसो उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

शिशुको मृत्यु चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण भएको परिवारले आरोप लगाएको छ । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

शिशुलाई जन्डिसको समस्या देखिएपछि छठ पर्वको दिन कात्तिक २९ गते नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।

शिशुको उपचार भइरहेको र स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको परिवारको भनाइ छ । तर, मंगलबार दिउँसो डिस्चार्जको प्रक्रिया चलिरहेका बेला करिब १२ बजेतिर शिशुलाई सुई लगाइएको र त्यसलगत्तै उनी छटपटाउन थालेको आफन्तले बताएका छन् ।

शिशुको अवस्था बिग्रिँदै जाँदा तत्काल चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रभावकारी उपचार नगरेको परिवारको आरोप छ । केही समयपछि अस्पतालले दिउँसो २ बजेर १८ मिनेटमा शिशुको मृत्यु भएको जानकारी गराएको शिशुका हजुरबुवा नरेश साहले बताएका छन् ।

घटनापछि परिवारले अस्पताल प्रशासनसँग उपचारका क्रममा खिचिएको सीसीटीभी फुटेज उपलब्ध गराउन माग गरेको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल सञ्चालक तथा विशेषज्ञ चिकित्सकको उपस्थितिमा सीसीटीभी फुटेज हेर्नुपर्ने उनीहरूको अडान छ ।

घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म र दोषीमाथि कारबाहीको सुनिश्चितता नभएसम्म शव नबुझ्ने आफन्तले बताएका छन् । अस्पताल प्रशासनले भने उपचारमा लापरबाही नभएको दाबी गरेको परिवारको भनाइ छ ।

यसैबीच, अस्पताल परिसरमा प्रदर्शन र तनाव बढेपछि सम्भावित अप्रिय घटना हुन नदिन वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले शिशुको मृत्यु भएपछि आक्रोशित आफन्त अस्पताल परिसरमा नाराबाजी गरेको बताए । उनका अनुसार प्रहरीले आफन्तलाई सम्झाइबुझाइ गरी स्थिति सामान्य बनाउने प्रयास गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस