आइतबारदेखि पानी पर्न सक्ने, काट्न बाँकी धानबाली सुरक्षित गर्न मौसमविद्को सुझाव

दियोपोस्ट संवाददाता

काठमाडौँ । पश्चिमी वायुको प्रभाव बढ्दै गएपछि आगामी आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसमविद् विभूति पोखरेलका अनुसार आज र भोलि देशका अधिकांश स्थानमा मौसम सफा रहनेछ । केही स्थानमा हल्का वर्षा भए पनि मौसममा ठूलो परिवर्तन हुने सम्भावना छैन । तर आइतबारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली आउन सक्ने उनले बताइन् ।

आइतबार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने अनुमान छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुने सम्भावना रहेको छ । त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने मौसमविद् पोखरेलले बताइन् ।

वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले किसानलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा क्षति पुग्न सक्ने भएकाले काट्न बाँकी धान तत्काल काटेर सुरक्षित गर्न सुझाव दिइएको छ ।

ठूलो वर्षाको सम्भावना नरहे पनि केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ । पश्चिमी वायुबाट विकसित हुने न्यून चापीय प्रणाली छिटो एक स्थानबाट अर्को स्थानमा सर्ने प्रकृतिको भएकाले केही समय वर्षा भएर रोकिन सक्ने पोखरेलले बताइन् । असिना पनि सीमित स्थानमा मात्र पर्ने सम्भावना छ ।

यद्यपि, हिउँदे समयमा हुने वर्षा र हिमपातले हिउँदेबालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा लिन सकिने उनको भनाइ छ ।

मौसमविद् पोखरेलले सम्भावित वर्षा र हिमपातबारे मौसम पूर्वानुमान तथा परामर्शका नियमित सूचनामा अद्यावधिक रहन पनि आग्रह गरेकी छन् ।