
काठमाडौँ । चितवनमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-१६ फुर्तीचोकमा आज बिहान ईभी कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३० वर्षीया पार्वती भुजेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी भरतपुर महानगरपालिका-१५ निवासी भुजेललाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अन्य दुई जना पैदलयात्री सामान्य घाइते भएका छन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न कार र चालक भरतपुर-१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।