
बुटवल । तिहार आउनासाथ सयपत्री फूलले पहेँलै हुने बुटवलका इश्वरी भण्डारीको फूलबारी यसपालि सुनसान छ । विगतका वर्षमा तिहार नजिकिँदै गर्दा फूल टिप्ने, माला गाँस्ने र बजार पुर्याउने चटारो हुन्थ्यो । तर, यसपटक न फूल फुलेका छन्, न त फूलबारीमा काम गर्नेको भीड नै छ ।
फूल खोज्दै ग्राहकका फोन आइरहेका छन्, तर भण्डारीसँग बेच्ने फूल छैनन् । समयमै बिरुवा रोप्न नपाउँदा उनको दुई बिघा फूलबारीमा यसपालि सयपत्रीको सट्टा तरकारी फलिरहेको छ । फूलसँगै यस वर्ष कम्तीमा ५० जनाको मौसमी रोजगारीसमेत गुमेको छ ।
विगत ६ वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएका भण्डारीका लागि यसपालिको तिहार केही खल्लो बनेको छ । कारण हो- समयमा फूलका बिरुवा रोप्न नपाउनु ।
भण्डारीका अनुसार गत असारतिर उनको फूल नर्सरीबाट दुई लाख बिरुवा बिक्री भएपछि समयमा फूल रोप्न पाएएन । बिरुवा बिक्रीको व्यवस्थापनमा भएको प्राविधिक त्रुटिका कारण तिहारलाई लक्षित गरेर फूल उत्पादन गर्न नसकिएको उनी बताउँछन् ।
‘तिहारको समयमा मेरो फूलबारी ढकमक्क हुन्थ्यो । फूल फुलेपछि हेर्दै रमाइलो लाग्थ्यो । तर, यसपालि फूल नै छैनन् । तिहारको वातावरण नै सुनसान भएजस्तो लागेको छ,’ उनी भन्छन् ।
फूल नफुले पनि ग्राहकको फोन भने रोकिएको छैन । विगतका वर्षमा उनीबाट फूल खरिद गर्दै आएका पुराना ग्राहकले यसपटक पनि फूल खोजिरहेका छन् । तर, मागअनुसार फूल उपलब्ध गराउन नसक्दा आफुलाई अप्ठ्यारो महसुस भइरहेको उनी बताउँछन् ।
‘फूल चाहियो भन्दै धेरै जनाले दिनहुँ फोन गर्नुहुन्छ । यसपालि फूल छैन भनेर ग्राहकलाई भन्नुपर्दा खल्लो महसुस भएको छ,’ भण्डारी सुनाउँछन् ।
केही वर्षयता नेपाली फूलले बजार पाउन थालेपछि फूल व्यवसायीहरूमा उत्साह थपिएको थियो । विशेषगरी तिहारको समयमा स्वदेशी सयपत्री फूलको माग बढ्दै जाँदा भण्डारीजस्ता व्यवसायीले पनि उत्पादन विस्तार गर्दै आएका थिए । तर, फूलको माग अत्यधिक हुने समयमै उत्पादन नहुँदा यसपटक उनलाई व्यवसायको अवसर गुमेको अनुभूति भएको छ ।
‘विगतका वर्षमा तिहार आउँदा फूलबारीमा छुट्टै चहलपहल हुन्थ्यो । यसपालि त्यो सबै छैन । नराम्रो लाग्ने रहेछ,’ उनी भन्छन् ।
फूलबारीको ठाउँमा तरकारी खेती:
फूल उत्पादन गर्न नपाएपछि भण्डारीले विगतका वर्षमा फूल रोप्दै आएको दुई बिघा जग्गामा अहिले तरकारी खेती गरेका छन् । तर, उनको फूल खेती छाड्ने योजना भने छैन ।
‘मैले फूल रोप्न छाड्दिनँ । यसपटक प्राविधिक त्रुटिका कारण समयमा बिरुवा रोप्न पाएनौँ । त्यसैले तिहारमा फूलको वातावरण बनेन,’ उनी भन्छन् ।
बरु, आगामी दिनमा फूल खेतीलाई अझै विस्तार गर्ने उनको योजना छ । उनले आगामी माघ महिनासम्ममा तयार हुने गरी फूलका बिरुवा रोप्ने तयारी गरिरहेका छन् । आगामी तिहारमा भने १० लाख फूलका बिरुवा रोप्ने उनको लक्ष्य छ ।
भण्डारीका अनुसार नेपाली बजारमा फूलको माग बढिरहेको छ । त्यसलाई धान्न उत्पादन पनि सोहीअनुसार बढाउन आवश्यक छ । उनले आगामी वर्षदेखि १० लाख फूलका बिरुवा रोप्न सके नेपाली फूलले बजारको ठूलो हिस्सा ओगट्न सक्ने विश्वास लिएका छन् ।
फूलसँगै गुम्यो मौसमी रोजगारी:
भण्डारीको फूलबारीमा यसपटक फूल नफुल्नुको असर उनको व्यवसायमा मात्रै सीमित छैन । त्यससँग जोडिएको स्थानीय रोजगारीसमेत प्रभावित भएको छ ।
विगतका वर्षमा उनको फूलबारीमा कम्तीमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका थिए । विशेषगरी तिहारको समयमा स्थानीय महिलाहरूले फूल टिप्ने, माला गाँस्ने र बजारसम्म पुर्याउने काम गरेर आम्दानी गर्थे । फूल खेतीले उनीहरूका लागि चाडपर्वको खर्च जुटाउने अवसरसमेत सिर्जना गरेको थियो ।
तर, यसपटक फूल उत्पादन नभएपछि उनीहरूको हातमा काम छैन । विगतमा तिहार नजिकिँदै गर्दा व्यस्त हुने महिलाहरू यसपालि घरमै बस्न बाध्य भएका छन् ।
‘तपाईंले फूल नरोपेका कारण हामीले काम पाएनौँ, घरमै बस्नुपर्यो भनेर गुनासो गर्नुहुन्छ,’ भण्डारी भन्छन् ।
उनका लागि फूल खेती आम्दानीको स्रोत मात्र होइन, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने माध्यम पनि हो । त्यसैले फूलबारी सुनसान हुँदा आफूलाई मात्रै नभई त्यहाँ काम गरेर जीविकोपार्जन गर्ने स्थानीय महिलाहरूलाई समेत असर परेको उनको भनाइ छ ।
स्वदेशी फूलले बजार पाउँदा उत्साहित व्यवसायी:
भारतीय बजार नजिकै रहेकाले नेपालमा भारतीय फूलको प्रभाव रहँदै आएको छ । तिहारलगायत चाडपर्वमा भारतीय फूलले नेपाली बजारमा स्थान पाउने गरेको अवस्थामा पछिल्ला वर्षमा भने नेपाली उत्पादनले पनि राम्रो बजार पाउन थालेको भण्डारीको अनुभव छ ।
उनका अनुसार स्वदेशी फूलको उत्पादन बढाउन सके भारतीय फूललाई नेपाली बजारबाट विस्थापित गर्नसमेत सकिन्छ । त्यसका लागि मागअनुसार उत्पादन बढाउनु पर्ने उनको भनाई छ ।
‘मैले आगामी वर्षका लागि १० लाख फूलका बिरुवाको आवश्यकता देखेको छु । अबका वर्षमा १० लाख जति बिरुवा रोप्न सके नेपाली फूलले नै बजार पाउन सक्छन् भन्ने लागेको छ,’ उनी भन्छन् ।
यस वर्ष भण्डारीको फूलबारीमा सयपत्री नफुले पनि उनको फूल खेतीप्रतिको मोह भने घटेको छैन । बरु, आगामी तिहारलाई अझै भव्य बनाउने र धेरैभन्दा धेरै नेपाली फूल बजारमा पुर्याउने योजनासहित उनी तयारीमा जुटेका छन् ।
यसपालि उनको फूलबारीमा फूल छैनन्, फूल टिप्ने हातहरू पनि खाली छन् । तर, आगामी तिहारमा फेरि त्यही फूलबारी सयपत्रीले ढकमक्क बनाउने र स्थानीय महिलाका हातमा काम फर्काउने सपना भने जीवितै छ ।






