
काठमाडौं- शुक्रबारको धरपकडपछि शनिबार बिहान प्रहरी प्रमुख (आईजीपी) दानबहादुर कार्कीले फेसबुकमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै स्टाटस लेखेका छन्। “विपद्को असर कम गर्न अभूतपूर्व सहकार्य गरौँ!” शीर्षकको उक्त स्टाटस वर्षा, सम्भावित हावाहुरी र विपद्को जोखिम न्यूनीकरणबारे हो। हिजोदेखि निरन्तर परिरहेको झरी (अर्नब नामको चक्रवातका कारण) को सन्दर्भमा उनले सूचना जारी गरेका हुन्।
स्टाटसमा उनले “आदरणीय आमा-बुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण सञ्चारकर्मी मित्रहरू” भन्दै सम्बोधन गरेका छन्। विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी सधैँझैँ दत्तचित्त भएर क्रियाशील रहने जनाउँदै उनले सञ्चारकर्मीको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा गरेका छन्। संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना पुर्याउन सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले लेखेका छन्:
“नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ। साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ।”
उक्त स्टाटसमा शुक्रबार साँझ सञ्चारगृहमा प्रहरी पुगेको घटना वा मध्यरातको वक्तव्यबारे कुनै उल्लेख छैन। एक दिनअघि सञ्चारगृहमा प्रहरी पुगेर पत्रकार नियन्त्रणमा लिइएको अवस्थामा “सञ्चारकर्ममा कुनै बाधा नपरोस्” भन्ने प्रतिबद्धता र “साहसिक रिपोर्टिङको अपेक्षा” ले प्रहरी नेतृत्वको सार्वजनिक भनाइ र व्यवहारबीच फरक देखिएको छ।