
काठमाडौं- डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान करिब ६ बजे कैदीबन्दी गणना गर्दा ८ जना नभेटिएपछि घटना सार्वजनिक भएको हो। अहिले कारागारको सीसीटीभी फुटेज हेरेर घटनाबारे अनुसन्धान भइरहेको उनले बताइन्।
फरार हुनेमा रुकुम पश्चिम, डोल्पा, सल्यान र जाजरकोटका गरी ८ जना छन्। तीमध्ये ६ जना विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका कैदी हुन् भने दुई जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका-१ का २५ वर्षीय यज्ञ विक छन्। त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ का २८ वर्षीय हरिबहादुर बुढा र जाजरकोटको नलगाड नगरपालिका-९ का १९ वर्षीय कपिल परियार पनि फरार भएका छन्।
यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका-३ का ३२ वर्षीय आदेश भण्डारी भने चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
प्रहरी तथा प्रशासनले घटनाबारे थप विवरण संकलन गरिरहेको छ। सुरुङ खनेर उनीहरू कसरी कारागारबाट बाहिरिए भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।