
काठमाडौँ । आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जेन्जी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष र गुम्बा विकास समिति बचाऊ संयुक्त समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरूले आनी छोइङ डोल्माको नागरिकता, सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय तथा उनको नियुक्तिको कानुनी आधार र औचित्यमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनीहरूले सम्बन्धित निकायलाई उठेका प्रश्नहरूको सत्यतथ्य जाँच गरी आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा २०८३ असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले छोइङ डोल्मा लामा मोक्तानलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरोधमा प्रदर्शनकारीहरूले माइतीघरमा भेला भई सरकारको ध्यानाकर्षण गराएका हुन् ।












तस्बिरः दिनेश रजक