
सिरहा । सिरहा गोलबजार नगरपालिका-११ बलकावाका वडाध्यक्ष सोहेब अनवर पक्राउ परेका छन् । उनी सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति गोलबजारबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत साउन १० गते सुनसरीको देवानगञ्ज र साउन १४ गते सिरहाको गोलबजारमा भएका तोडफोड, आगजनी तथा सार्वजनिक शान्तिविरुद्धका घटनामा संलग्न रहेको आरोपमा अनवरविरुद्ध मुद्दा दर्ता भएको थियो ।
गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट् सेना’ नामक संस्थासँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार सोही जाहेरीका आधारमा अनवरविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
प्रहरीका अनुसार अनवर पछिल्लो समय कहिले ससुरालीमा त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए । उनी घर आएको अवस्थामा समेत प्रहरीबाट बच्न लुक्ने गरेको सूचना पाएपछि खोजतलास तीव्र पारिएको थियो । सोही क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा अनवरको संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।