
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिचौलियाको भूमिकामा देखिएपछि पक्राउ परेका इनम सापकोटा अहिले प्रहरी हिरासतमा छन् । उनी विरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि उनीमाथि अनुसन्धान गरिरहेको छ ।
प्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनको मोबाइलमा भेटिएको शङ्कास्पद पात्र सापकोटासँग सम्बन्ध देखिएपछि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बनसँगै बर्खास्तीमा परेका छन् । पक्राउ परेका सापकोटा मुद्दा मिलाउने बिचौलियाको भूमिका देखिएका प्रशस्त प्रमाणहरू अनुसन्धानका क्रममा खुलेको छ । हाल कारागारमा रहेका दीपक भट्टलाई छुटाउने डिल गर्ने देखि न्यायधीशहरुको घुस रकम व्यवस्थापनमा समेत उनी प्रयोग भएको तथ्य अनुसन्धानले देखाएको छ ।

गत असोज १४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका उनको मोबाइलमा नेपाल प्रहरीकै उच्च अधिकारीको समेत सम्पर्क र रहस्यमयी सम्बन्ध देखिएको छ । पक्राउ पर्ने बित्तिकै उनको मोबाइल नियन्त्रणमा लिँदा सशस्त्र प्रहरीका एआइजी दाहालको शङ्कास्पद सम्बन्ध देखिएपछि उनी कारबाहीमा परेका थिए । दाहाल जस्तै नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीको रहस्यमयी सम्बन्ध रहेको स्क्रिन सर्टसहितको प्रमाण फेला परेको छ । मिसिलमा देखिएको प्रमाण अनुसार प्रहरी महानिरीक्षक कार्की र सापकोटाबिच ‘सम्पर्क’ देखिएको हो । कार्की र सापकोटाबिच पटक पटक कुराकानी भएको समेत देखिएको छ ।
सापकोटाको मोबाइलमा आइजिपी दानबहादुर कार्की सर भनी सेभ भएको देखिएको छ । सापकोटा पक्राउ पर्नुभन्दा ६ दिन अघि मात्रै कार्कीसँग ह्वाटसएपमा कुराकानी भएको देखिएको छ ।
नेपाल प्रहरीको प्रबन्ध शाखाका डिआइजी विश्वराज अधिकारीसँग सबैभन्दा धेरै सम्पर्क देखिएका इनमले पोशाक खरिदका विषयमा संवाद गरेको समेत खुलेको छ । प्रहरी महानिरीक्षक दानबहादुर निकट रहेका डिआइजी अधिकारीले सापकोटासँग पोशाक खरिदकै कुराकानी गर्नुले सापकोटाको भूमिका पोशाक खरिदमा समेत रहेको समेत आशंका बढाएको छ ।
गत असोज ११ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका थिए । जबरा पक्राउ परेपछि प्रहरीले मोबाइल अनुसन्धान गर्दा इनमको शङ्कास्पद सम्बन्ध देखिएको थियो । त्यस्तै हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको पनि इनमसँग सबैभन्दा धेरै सम्पर्क देखिएको छ । अधिकारीसँग मुद्दाको सेटिङ, सरुवा बढुवा लगायतको विषयमा कुराकानी हुने गरेको तथ्य अनुसन्धानमा संलग्न मिसिलले देखाएको छ ।

इनमसँग सशस्त्र प्रहरी, नेपाल प्रहरीका अन्य अधिकारीको समेत सम्पर्क र सूचना आदान प्रदान रहेको भेटिएको छ । तर, सरकारले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई मात्रै कारबाही गरेको छ ।
चोलेन्द्र निकट एक न्यायाधीश र रास्वपाका सांसदको पनि शङ्कास्पद सम्बन्ध देखिएको छ । रास्वपाका ती सांसद र न्यायाधीशले अमेरिकामा रहेको इनमकी नातेदार कविता पाण्डेको खातामा रकम जम्मा गराउन सन्देश पठाएको समेत खुलेको छ । यद्यपि उक्त रकम घुस बापतको हो वा मुद्दा सेटिङको हो भन्ने खुलेको छैन । त्यसबारे समेत अनुसन्धानपछि मात्रै निष्कर्षमा पुग्न सकिने अनुसन्धान अधिकारीहरूको दाबी छ ।
मुद्दा सेटिङका बिचौलिया इनमसँगको सम्पर्कबारे प्रश्न गर्न दियो पोस्टले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई इनमसँगको सम्पर्कबारे प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले पनि फोन उठाएनन् ।
सापकोटाले सिंगापुरको मोबाइल नम्बरमा समेत कुराकानी गर्ने गरेको देखिएको छ । त्यसो त उनको सिंगापुरमा कम्पनी समेत रहेको छ । दुबईमा अपार्टमेन्ट समेत रहेको देखिएको छ । उनले नेपालमा मुद्दाको सेटिङ गर्ने र दुबई, अमेरिका र सिंगापुर लगायतको मुलुकमा लेनदेन गर्ने गरेको खुलेको छ । त्यसैले पनि उनको अधिकांश सम्पर्क भिआइपीहरूसँग देखिएको छ । उनको सम्पर्क हुने लेनदेन हुने र कारागारमा रहेका थुनुवा, कैदीहरू छुट्ने सम्मका घटनाहरू अनुसन्धानले देखाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि कारागार चलान भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग समेत उनको निकट सम्बन्ध देखिएको छ । उनकै सेटिङमा खाँण छुटेको समेत आशंका अनुसन्धानमा संलग्न स्रोतलाई छ । त्यस्तै कांग्रेस नेताहरूसँगको कुराकानीपछि सर्वोच्च अदालतमा आधिकारिकता सम्बन्धी विवादको मुद्दामा काँग्रेसका नेताहरू उत्साहित देखिएको समेत देखिएको छ ।
इनमसँग निरन्तर सम्पर्कमा रहेका खड्काले विवादसम्बन्धी मुद्दामा अग्रसरता लिएको समेत अनुसन्धानमा देखाएको छ । ‘प्रहरीका उच्च अधिकारी, अदालतका न्यायाधीश, राजनीतिक नेतृत्वसँग ईनमको शङ्कास्पद सम्बन्ध देखिन्छ,’ स्रोतले दियोपोस्टसँग भन्यो,‘अधिकांश मुद्दा सेटिङ, बिचौलिया र लेनदेनका कुराहरू रहेका छन् ।’