
काठमाडौँ । धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार दिउँसो मोटरबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । मोटरबोटमा ११ जनाले टिकट काटेको र कुल १६ जना यात्रु रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार दिउँसो करिब २ बजे भोजपुरबाट बराह क्षेत्रतर्फ आउँदै गरेको मोटरबोट दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा ५ वर्षीया बालिका, ३५ वर्षीया महिला र ४० वर्षका एक पुरुष रहेका रहेका छन् । मृतकहरूको अझै पहिचान खुलेको छैन ।
सुरुमा मोटरबोटमा १४ जना सवार रहेको बताइएको थियो । तर पछिल्लो जानकारी अनुसार मोटरबोटमा ११ जनाले मात्रै टिकट काटेको तर कुल १६ जना सवार रहेको बताइएको छ । यदि मोटरबोटमा १६ जना यात्रु सवार रहेको पुष्टि भएमा बेपत्ता हुनेको सङ्ख्या ४ जना पुग्ने सुनसरी प्रहरीले जनाएको छ ।
मोटरबोटका चालकले प्रहरीलाई दिएको जानकारीमा मोटरबोटमा कुल १६ जना यात्रु रहेका थिए जसमध्ये ९ जना सम्पर्कमा आइसकेका छन् भने तीन जनाको शव भेटिएको छ ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनीबाट ५ जना गोताखोर सहित ९ जनाको टोली, सुरक्षा बेस रामपुरबाट २ जना डिएम सहित ६ जनाको टोली र विपद् व्यवस्थापन बेस चतराबाट ५ जना डिएम सहित ९ जनाको टोली घटनास्थलमा खटिएको छ ।
त्यसै गरी घटनास्थलमा नेपाल प्रहरीको उद्धार टोलीसमेत पुगेर उद्धार तथा खोजी कार्य जारी राखेका छन् ।