
जनकपुर । धनुषामा एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका-४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादवले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमान् झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार उमेशले श्रीमती रिना यादवको हत्या गरेका थिए । घटनामा उनीहरूका चार वर्षीय छोरा सम्राट यादव घाइते भएका छन् ।
प्रहरीका अनुसार उमेश कात्तिक ७ गते राति करिब ९ बजे ससुराली पुगेका थिए । सोही राति करिब १ः५० बजे उनले श्रीमती र आफूसँगै सुतिरहेका छोरामाथि धारिलो हतियार प्रहार गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा फेला पारेको थियो । बालक सम्राटको दाहिने तिघ्रामा चोट लागेको थियो ।
घाइते बालकलाई तत्काल स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको डिएसपी खनालले जानकारी दिए । उनका अनुसार बालकको अवस्था सामान्य रहेको छ। घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ ।
श्रीमतीको हत्या र छोरामाथि आक्रमण गरेपछि उमेश घटनास्थलबाट फरार भएका थिए । प्रहरीले उनको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका-२ मा सिर्सिया जाने बाटोको दक्षिणतर्फ रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला पारेको थियो ।
घटनापछि प्रहरीले रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । पहिलो घटनास्थलको मुचुल्का तयार गर्ने काम सम्पन्न भइसकेको छ भने उमेशको शव फेला परेको दोस्रो घटनास्थलको मुचुल्का तयार गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण हालसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।