उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ती सवारीसाधन कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, सिसी क्यामरामार्फत पहिचान भएका ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालक रहेका छन् ।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ५७, अनावश्यक हर्न बजाउने आठ र लेन अनुशासन पालना नगर्ने तीन सवारीसाधनका चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । सवारीसाधनको अवस्था ठीक नभएका दुई तथा अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी नियम उल्लंघन गरी सवारी चलाउने चालकलाई निगरानीमा राख्दै कारबाही गर्दै आएको छ ।