पोखरामा फार्मेसीबाट ७ हजारभन्दा बढी प्रतिबन्धित औषधीका चक्की बरामद, सञ्चालिका पक्राउ

दियोपोस्ट संवाददाता

कास्की । पोखरामा औषधी पसलबाट प्रतिबन्धित औषधीका चक्कीसहित एक फार्मेसी सञ्चालिका पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२६ कालिकाचोकस्थित जलधारे औषधी पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुंगाना रहेकी छन् । प्रहरीले उनको साथबाट विभिन्न चार प्रकारका ७ हजारभन्दा बढी लागुऔषधका चक्की बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा बुधबार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उक्त औषधी पसलमा जाँच गरेको थियो । जाँचका क्रममा सञ्चालिका ढुंगानाको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधी बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद औषधीमा कोडिप-पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की रहेका छन् । यी औषधीको कुल संख्या ७ हजार १६० चक्की रहेको छ ।

पक्राउ परेकी ढुंगानामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाट लागुऔषधको अवैध कारोबार हुने गरेको घटना सार्वजनिक भएका थिए । प्रहरीले यस्ता घटनामा संलग्न औषधी पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउँदै आएको छ ।