जेनजी किन विद्रोह गर्दैछन्?

Guest
ओस्कार बर्गलान्ड

फ्रान्सदेखि भारतसम्म, बढ्दो असमानता, असफल सार्वजनिक सेवा र भविष्यको निराशाजनक सम्भावनालाई लिएर युवाहरू सडकमा उत्रिरहेका छन्।

हामी हाल युरोप र त्यसभन्दा बाहिर विरोध प्रदर्शनको एउटा लहरको सामना गरिरहेका छौं। धेरैजसोलाई ‘जेनजी विरोध’ नाम दिइएको छ, जहाँ लगभग १३ देखि २९ वर्ष उमेर समूहका युवाहरूले विशेष गरी उनीहरूको पुस्तालाई असर गर्ने मुद्दाहरूमा प्रदर्शनको नेतृत्व गरिरहेका छन्।

फ्रान्समा, गम्भीर रूपमा बजेट अभाव झेलिरहेका विद्यालयहरूको बिग्रँदो अवस्थालाई लिएर केही हप्ता अघि प्रदर्शन सुरु भएको थियो। ती प्रदर्शनहरू झन् बलियो हुँदै गएका छन्, जहाँ गत हप्ता देशभर आधा मिलियन (पाँच लाख) देखि ८ लाखसम्म प्रदर्शनकारीहरूले भाग लिएको बताइएको छ।

भारतमा, प्रधानमन्त्री नरेन्द्र मोदीको बढ्दो अधिनायकवादी नेतृत्वका लागि ‘ककरोच आन्दोलन’ सबैभन्दा ठूलो चुनौतीका रूपमा उभिएको छ। गत हप्ता, मतदाता नामावलीबाट १३ करोड भन्दा बढी नामहरू हटाइएपछि आक्रोश बढ्दै जाँदा यसका नेतालाई गिरफ्तार गरियो।

स्पेनमा, भत्किएको आवास प्रणाली र घरपरिवारलाई विस्थापनबाट जोगाउन असफल भएका नियमहरूलाई लिएर आक्रोश उत्पन्न भएको छ। पहिले ८७ वर्षीया मारिकार्मैन एबास्कललाई जबर्जस्ती घरबाट निकालियो। त्यसपछि संसदले घरपरिवारलाई विस्थापनबाट जोगाउने व्यापक रूपमा लोकप्रिय विधेयकलाई अस्वीकार गरिदियो, जसले गर्दा प्रधानमन्त्री पेड्रो साञ्चेजलाई आकस्मिक चुनाव आह्वान गर्न बाध्य बनायो। मारिकार्मैनको विस्थापनको दुई हप्तापछि निधन भयो।

प्रत्येक देशको सन्दर्भ फरक भए तापनि, वर्तमान विरोधको लहरको केन्द्रमा असमानताप्रतिको असन्तुष्टि नै रहेको छ। यो असमानताका दुई पक्ष छन्: एउटा वर्गसँग सम्बन्धित छ र अर्को पुस्तासँग।

युरोपभरि, २००८ को आर्थिक सङ्कटपछि असमानता उल्लेख्य रूपमा बढेको छ। यो बढ्दो आय असमानता र तीव्र रूपमा बढेको सम्पत्ति असमानतामा देख्न सकिन्छ। मानिसहरूको जीवनमा यसको असर युरोपेली कल्याणकारी राज्यहरूको क्षयले अझ बिगारेको छ। सबैका लागि उच्च गुणस्तरीय सार्वजनिक सेवाहरूले जीवनको एक न्यूनतम स्तर र सबैलाई सफल हुने अवसर दिने योग्यतातन्त्रको ग्यारेन्टी गर्ने उद्देश्य राखेका थिए। तर वर्षौंको कटौतीले राम्रो शिक्षा, स्वास्थ्य सेवा, सामाजिक हेरचाह र अन्य सेवाहरू प्रदान गर्ने राज्यको क्षमतालाई क्षीण बनाएको छ। राज्यको यो क्रमिक पछि हटाइले आय र सम्पत्तिको बढ्दो असमानतालाई अझ बढाउँछ, किनकि केहीले राम्रो सेवाका लागि पैसा तिर्न सक्छन् भने धेरैले सक्दैनन्।

यी बढ्दो असमानताहरू प्रायः युवाहरूले अझ बढी महसुस गर्छन् र उनीहरूले सामना गर्ने अन्य चुनौतीहरूले यसलाई अझ जटिल बनाउँछन्। एकपछि अर्को क्षेत्रमा, युवाहरूले शासन प्रणालीका असफलताहरू भोगिरहेका छन् जसले उनीहरूलाई आफ्ना आमाबाबु र हजुरबा हजुरआमाको भन्दा धेरै निराशाजनक दृष्टिकोण र कमजोर सम्भावनाहरू दिन्छ।

पर्याप्त बजेट नभएका शिक्षा प्रणालीहरूले हालैको पीआइसीए नतिजाद्वारा उजागर गरिएको पढाइ र गणितीय दक्षतामा आएको तीव्र गिरावटमा निस्सन्देह ठूलो भूमिका खेलेका छन्। यो गिरावटको एउटा सामान्य कारण बिग्रँदो मानसिक स्वास्थ्य र यससँग सम्बन्धित विद्यालयको अनुपस्थिति हो, जसमा सोसल मिडियालाई प्रायः एउटा कारक तत्वको रूपमा लिइन्छ।

शैक्षिक उपलब्धिमा गिरावट आउनुको अर्को कारण  एआईको तीव्र प्रयोग हो। यी अर्को प्रकारका शासकीय असफलताहरू हुन्। सोसल मिडिया र एआई दुवैलाई नियमन गर्ने प्रयासहरू सुस्त भएका छन् र टेक जायन्टहरूको बलियो लबिङका कारण बाधा पुगेको छ।

एआई क्रान्तिले युवाहरूलाई श्रम बजारमा स्थापित हुन खोज्दा पनि असर गर्छ। रोजगारीमा एआई क प्रभाव अझै प्रारम्भिक चरणमा भए तापनि, विशेष गरी प्रवेश-स्तरको कामहरू मेसिनहरूद्वारा बढी भइरहेको स्पष्ट भइसकेको छ।

आवास अर्को त्यस्तो अत्यावश्यक पाटो हो जहाँ युवाहरू वञ्चित छन्। आजका युवाहरूले अघिल्ला पुस्ताको तुलनामा आफ्नो आम्दानीको ठूलो हिस्सा भाडामा खर्च गर्छन्। यो पनि शासनकै असफलता हो।

यी सबैको माथि जलवायु सङ्कट आउँछ, जुन सम्भवतः ती सबैमध्ये सबैभन्दा ठूलो शासकीय असफलता हो। पछिल्लो आइपिसीसी प्रतिवेदनले २०२० मा जन्मेकाहरूका लागि आफ्ना आमाबाबु र हजुरबा हजुरआमाको तुलनामा जीवन कति धेरै असुरक्षित हुनेछ भनेर प्रस्ट पार्छ।

अझ समान समाजहरू जलवायु परिवर्तनले ल्याउने अस्थिरताको सामना गर्न धेरै राम्रो स्थितिमा हुनेछन्, किनकि उनीहरूले अनुकूलनका सामूहिक रूपहरू प्रदान गर्नेछन्। यसको सट्टा, हामीले अहिले देखिरहेका अत्यधिक असमान समाजहरूले अनुकूलनको भार व्यक्ति र घरपरिवारमाथि थुपार्नेछन्।

अर्को शब्दमा भन्नुपर्दा, बहुविध शासकीय असफलता र राज्यको क्षमताको क्षयले युवाहरूका लागि एउटा विस्फोटक स्थिति सिर्जना गरेको छ। पेरिस, नयाँ दिल्ली, रोम र मड्रिडका सडकहरूमा व्यक्त भइरहेको आक्रोश यही हो।

अपेक्षित रूपमा, सरकारको मुख्य प्रतिक्रिया दमन नै रहेको छ। यसले विरोधलाई अपराधीकरण गर्ने र दमन गर्ने विश्वव्यापी प्रवृत्तिलाई पछ्याउँछ। चाहे त्यो विरोध-विरोधी कानून, गिरफ्तारी वा प्रहरी हिंसाको माध्यमबाट होस्, दमन बढ्दै गएको छ। दमनले कहिलेकाहीँ विरोध आन्दोलनहरूलाई दबाउन सफल हुन्छ। अन्य समयमा, यसले उनीहरूलाई झन् भड्काउँछ। फ्रान्स र भारत दुवैमा अहिलेसम्म त्यस्तै भएको छ।

वास्तवमा चाहिने कुरा भनेको युवाहरूलाई सडकमा उत्रिन प्रेरित गर्ने असमानता र शासकीय असफलताहरूलाई सम्बोधन गर्ने वास्तविक प्रयासहरू हुन्। तिनै बिना, राजनीतिक सङ्कटहरू निम्तिनु निश्चित छ।

लेखक ब्रिस्टल विश्वविद्यालयका अन्तर्राष्ट्रिय सार्वजनिक तथा सामाजिक नीतिका वरिष्ठ प्राध्यापक हुन्।  [यस लेख अलजजिराबाट राजु झल्लु प्रसादले अनुवाद गरेका हुन्]