तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ६५ घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । तिब्बतको पहाडी क्षेत्रमा ७।० म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

स्थानीय आपतकालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार बिहीबार राति नाग्कु क्षेत्रको बाकेन काउन्टीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

चीनले सन् १९५० को दशकमा तिब्बतलाई स्वायत्त क्षेत्र घोषणा गरेको थियो। भूकम्पको केन्द्र रहेको बाकेन काउन्टी तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा अवस्थित छ।

भूकम्पपछि अधिकारीहरूले प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै उद्धार टोली परिचालन गरेका छन्। भूकम्पका कारण ३३९ घर भत्किएका छन् भने प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। शुक्रबार बिहानसम्म केही क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको समाचारमा उल्लेख छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट प्रभावित १२ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरो तथा ढुंगा खस्दा क्षेत्रका केही सडक बन्द भएका छन् । यसले उच्च पहाडी क्षेत्रमा उद्धार टोली पुग्न कठिनाइ भएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० का अनुसार भूकम्पको केन्द्रनजिकै थप सातवटा भूकम्प रेकर्ड गरिएका छन्। तीमध्ये सबैभन्दा ठूलो ५।२ म्याग्निच्युडको भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहानसम्म ४०० भन्दा बढी परकम्प रेकर्ड भएका छन्। भूकम्पको केन्द्रनजिकै गएको ठूलो सङ्ख्याका परकम्पले प्रभावित क्षेत्रमा थप जोखिम निम्त्याउन सक्ने भएकाले उद्धार तथा राहत कार्यमा चुनौती थपिएको छ।