पर्सा र कैलालीबाट लागूऔषधसहित ६ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । पर्सा र कैलालीबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका-५ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ३ ग्राम ५०० मिलिग्राम र गाँजा १२० ग्रामसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-५ निचुटाका ४३ वर्षीय संजय औझैया, १९ वर्षीय अशोक चौधरी र २६ वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार राति उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली मार्गबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ३ ग्राम ५८ मिलिग्रामसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-९ का १९ वर्षीय सन्जय रानासमेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।