सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइटसहितका सेवा अस्थायी बन्द

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटसहितका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सुरक्षा जोखिमका कारण वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको हो ।

बैंकले यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । यस अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमा उपलब्ध विवरणहरू हेर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

राष्ट्र बैंकले उक्त सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई पनि अपिल गरेको छ ।

सम्बन्धित संस्थाहरूलाई आफ्ना सर्भरमा प्रयोग भइरहेका प्रणालीको सुरक्षा सुदृढ गर्न तथा नियमित सुरक्षा निगरानी बढाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

बिहीबार देखि नै नेपाल सरकार मातहतका वेबसाइटहरूमा पनि समस्या देखिएको थियो । सरकारी वेबसाइटहरूको सर्भरमा समस्या आएपछि बिहीबारदेखि ‘डट जिओभी डट एनपी’  डोमेनअन्तर्गतका वेबसाइटहरू बन्द भएका थिए ।