
झापा । झापाको बिर्तामोड नगरपालिका-२, रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । आगलागीका कारण लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी, झापाका अनुसार बिहान करिब सवा ४ बजे ध्रुव भट्टराईको जग्गा भाडामा लिई रवि राजवंशीले सञ्चालन गरेको सवारीसाधनको बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो । ठुला सवारीसाधनको बडी मर्मत गर्ने स्थानको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको ।
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान करिब साँढे ४ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी क्यान्टिनमा काम गर्ने झापाको गौरीगञ्ज गाउँपालिका-२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको छ । उनको शव जलेको अवस्थामा घटनास्थलमा फेला परेको थियो ।
आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन वटा खसी बाख्रा तथा नगद एक लाख रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यसै गरी बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत आगलागीबाट सामान्य क्षति पुगेको छ । दमकलबाट आगो निभाउने क्रममा गोदामभित्र राखिएका करिब २५ बोरा सिमेन्ट भिजेर करिब २५ हजार रुपैयाँ बराबरको थप क्षति भएको छ ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।