टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा, टीका लगाइदिने पूर्व र टीका थाप्ने पश्चिम फर्कनुपर्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँअन्तर्गत आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ । मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा आज पालना गरिँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०ः२६ बजेको समय तोकिएको हो ।

यसै गरी, समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ । सोही साइतमा विधिपूर्वक देवी विसर्जन गरिने समितिले जनाएको छ ।

साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने समितिले जनाएको छ । घटस्थापनादेखि विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका मूल मानिस तथा ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिने गरिन्छ ।

दसैँमा नवदुर्गा भवानीको पूजा-आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन् । रोजगारी, अध्ययन तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीसमेत दसैँ मनाउन आफ्नो थातथलो फर्कने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने विजयादशमीको दिनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । कतिपय स्थानमा टीकाको दिन मात्रै टीका थाप्ने चलन छ भने कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ ।

धार्मिक मान्यताअनुसार विजयादशमीलाई देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् श्रीरामले रावणमाथि विजय हासिल गरेको दिनका रूपमा मनाइन्छ । मार्कण्डेय पुराणअन्तर्गत ‘देवीमाहात्म्य’ मा चण्डी पाठ, देवीको महिमा, दानवी शक्तिविरुद्धको सङ्घर्ष र धर्मको रक्षासम्बन्धी प्रसङ्ग तथा देवी दुर्गाको विजयको स्मरण गरिएको छ । नवरात्रभर गरिएको धार्मिक साधनाको समापन गर्दै ज्येष्ठ सदस्यहरूसँग टीका र जमरा लगाई आशीर्वाद लिने परम्परा यसैमा आधारित छ । दसैँको टीका लगाउँदा जीवनमा सधैँ सत्य, धर्म र सदाचारको विजय होस् भन्ने धार्मिक भावना जोडिएको हुन्छ ।

दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ । यस दिन जलले अभिषेक गरी भगवतीलाई चढाइएको रातो तथा सेतो वस्त्रलाई प्रसादको रूपमा घाँटीमा लगाउने परम्परा समेत रहेको छ । दसैँको टीकाले टाढा-टाढा रहेका परिवारका सदस्यहरूलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । यस पर्वले परिवारका सदस्यहरूबिच आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्नुका साथै आफन्त, छिमेकी र सिङ्गो समुदायबिच समेत भाइचाराको भावना बलियो बनाउँछ ।

सम्बन्धित खबर

सिफारिस