एनपीएल क्रिकेटमा डीआरएस प्रविधि भित्रिने, एआईसहितको अत्याधुनिक प्रविधि प्रयोग हुने

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यस पटकको एनपीएलमा डीआरएस प्रयोग गरिने आधिकारिक जानकारी दिएको हो ।

यसअघि क्यानका सचिव पारस खड्काले एनपीएलमा पहिलो पटक डीआरएस ल्याउने पहल भइरहेको बताएका थिए । दुई कम्पनीसँग प्रविधिको परीक्षण सम्पन्न भइसकेको र अब त्यसको तथ्यपरकता (एक्युरेसी) मूल्यांकनपछि अन्तिम निर्णय गरिने कुरा उनले उल्लेख गरेका थिए । सोही अनुरूप अब एनपीएलमा डीआरएस प्रविधि भित्रिने निश्चित भएको छ ।

सिद्धार्थ बैंकको सहयोगमा एनपीएलमा पहिलो पटक यो प्रविधि प्रस्तुत गरिएको हो । यस कदमलाई नेपाली क्रिकेट क्षेत्रमा एक नयाँ कोसेढुङ्गाका रूपमा हेरिएको छ । ‘हिमालयको उत्सव’का रूपमा परिचित यस प्रतियोगितामा नयाँ नवप्रवर्तन, अत्याधुनिक प्रविधि र खेलको भविष्यलाई एकैसाथ जोड्ने प्रयास गरिएको छ । डीआरएस प्रविधिको आगमनसँगै प्रतियोगिता थप निष्पक्ष, आधुनिक र प्रतिस्पर्धात्मक बन्ने दाबी गरिएको छ ।

के-के हुनेछन् डीआरएसका विशेषता ?

डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ, जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ ।

क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोग हुनेछ । त्यस्तै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ । यसै गरी एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुनेछ ।

यस प्रविधिले खेलाडी, अम्पायर र दर्शक सबैको अनुभवलाई थप विश्वसनीय र रोमाञ्चक बनाउने क्यानको दाबी छ ।

सिफारिस