
काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते ‘मनसुन बहिर्गमन बुलेटिन-२’ जारी गर्दै देशभरबाट मनसुन बाहिरिएको जानकारी दिएको हो ।
महाशाखाका अनुसार यसअघि असोज १७ गते (अक्टोबर ३) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका साथै गण्डकी प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिन सुरु भएको थियो ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष १२ दिन ढिलो गरी मनसुन बाहिरिएको विभागले जनाएको छ ।
मनसुन पूर्ण रूपमा बाहिरिएसँगै नेपालमा औपचारिक रूपमा वर्षायाम समाप्त भएको छ । अब नेपालमा मनसुनपछिको अवधि अर्थात् पोस्ट-मनसुन सुरु भएको छ ।
