केटीएम सिटीमा कपडा किन्दा महालक्ष्मी विकास बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

दियोपोस्ट संवाददाता

काठमाडौँ । महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका १७ वटै आउटलेटबाट कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंक र फेसन तथा लाइफस्टाइल कम्पनी केटीएम सिटीबीच भएको सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले केटीएम सिटीसँग सहकार्य गरेको जनाएको छ।  सम्झौताअन्तर्गत केटीएम सिटीका सबै आउटलेटमा उपलब्ध सम्पूर्ण कपडा तथा पहिरन खरिदमा ग्राहकले छुट पाउनेछन्।

केटीएम सिटीले स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरन बिक्री गर्दै आएको छ। कम्पनीले नवीनता, गुणस्तर र ग्राहकको बदलिँदो आवश्यकतालाई प्राथमिकता दिँदै फेसन तथा लाइफस्टाइल क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको छ।

महालक्ष्मी विकास बैंकले वित्तीय सेवासँगै ग्राहकलाई विभिन्न क्षेत्रमा अतिरिक्त सुविधा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य, रेस्टुरेन्ट तथा सेवा क्षेत्रका संस्थाहरूसँग सहकार्य गर्दै आएको जनाएको छ। बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।