‘स्वास्थ्य श्री’ तोरीको तेल न्यूनस्तरको, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

दियोपोस्ट संवाददाता

काठमाडौँ । चितवनको खैरहनी-२ स्थित रिलायबल नेपाल एग्रो लिमिटेडले उत्पादन गरेको ‘स्वास्थ्य श्री’ ब्रान्डको एक लिटर प्याकेटको तोरीको तेल न्यूनस्तरको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा ब्याच नम्बर आरपी ०५ मा उत्पादन भएका सबै तेल न्यूनस्तरको पाइएको जनाएको छ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा ९२० बमोजिम सम्बन्धित उत्पादकलाई उक्त तेल बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको छ । साथै, सोही ऐनको व्यवस्थाअनुसार उक्त तेल बिक्रीवितरण नगर्न तथा नगराउन निर्देशन दिइएको छ।

उक्त तेल तोरीको दानाबाट उत्पादित एक लिटरको प्याकेटमा उपलब्ध छ । यसको उत्पादन मिति सन् २०२६ सेप्टेम्बर १ उल्लेख गरिएको छ भने उपभोग्य अवधि उत्पादन मितिले नौ महिना रहेको छ।

विभागले बजार अनुगमन तथा प्रयोगशाला परीक्षणका क्रममा खाद्य पदार्थ न्यूनस्तरको पाइएपछि सम्बन्धित कानुनी व्यवस्थाअनुसार बजारबाट फिर्ता गर्न र बिक्रीवितरण रोक्न आदेश दिएको जनाएको छ।

सम्बन्धित खबर