बासी खाना खुवाउने राजमार्गका होटलमा अनुगमन, चालक र सञ्चालकलाई कारबाही गरिने

दियोपोस्ट संवाददाता

काठमाडौँ । राजमार्गका होटल तथा खाजाघरमा यात्रुलाई बासी, अस्वच्छ र झिंगा भन्केका खाना खुवाउने तथा चर्को मूल्य असुली गरी ठगी गर्ने गरेको गुनासो बढेपछि यातायात व्यवस्था विभागले अनुगमन र कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

सार्वजनिक यातायातका यात्रुलाई खाजा, नास्ता तथा खाना खुवाउन सवारीसाधन रोक्ने होटल तथा रेष्टुरेन्टमा सरसफाइको अभाव, खाद्य पदार्थको न्यून गुणस्तर र मनपरी मूल्य असुली हुने गरेको जनगुनासो आएपछि विभागले यस्तो कदम चालेको हो ।

पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठकबाट भएको निर्णयअनुसार विभागले सार्वजनिक सवारीसाधनका चालक, होटल तथा रेष्टुरेन्ट सञ्चालक र अन्य सरोकारवालालाई लक्षित गरी सूचना जारी गरेको छ ।

विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेष्टुरेन्टमा मात्रै सवारी रोक्न आग्रह गरेको छ । सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेष्टुरेन्टलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ ।

होटल तथा रेष्टुरेन्टमा उपलब्ध हुने खाना र खाजाको गुणस्तर कमजोर हुँदा यात्रु बिरामी परेको गुनासोसमेत आएपछि सम्बन्धित निकायले निगरानी बढाएका छन् ।

कुनै होटल वा रेष्टुरेन्टमा खाएको खानाका कारण यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल सञ्चालक दुवैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

त्यस्तै, होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता र गुणस्तर कायम नभएको वा खानाको मूल्यमा ठगी भएको पाइए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन विभागले यात्रुहरूलाई आग्रह गरेको छ ।

यस्ता समस्या देखिएमा यात्रुले नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गर्न सक्नेछन् । त्यसैगरी, नजिकैको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयमा उजुरी दिन सकिनेछ ।

विभागको यो कदमले राजमार्गका होटल तथा खाजाघरमा यात्रुले भोग्दै आएका अस्वच्छ खाना, न्यून गुणस्तर र चर्को मूल्य असुलीजस्ता समस्यालाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।