
काठमाडौँ । वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई त्यहाँबाट हटाउने सरकारी कदमको विरोध भएको छ । घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएको भन्दै प्रभावित परिवारले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।
विशेषगरी भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरमा रहेका परिवारलाई त्यहाँबाट हट्न दबाब दिएपछि उनीहरूको बसोबासको समस्या थप जटिल बनेको छ । विस्थापित परिवारले वैकल्पिक आवास सुनिश्चित नगरी होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
गत वैशाख १२ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न नदीकिनार तथा सार्वजनिक जग्गामा रहेका बस्ती हटाउने अभियानका क्रममा विस्थापित भएका परिवारलाई सरकारले विभिन्न अस्थायी होल्डिङ सेन्टरमा राखेको थियो । तर, सात महिना बितिसक्दा पनि धेरै परिवारको स्थायी पुनर्वास हुन सकेको छैन ।
बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेका परिवारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न लिखित सूचना दिएको छ । यसअघि मंसिर ४ गतेदेखि नै मौखिक रूपमा स्थान खाली गर्न भनिएको थियो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार बोडेमा रहेका १९ परिवारका ५६ जनामध्ये १२ परिवारको नाममा हालसम्म जग्गा नभएको पाइएको छ भने सात परिवारको हकमा तीन पुस्ताभित्र जग्गा रहेको वा जग्गा कारोबार गरेको विवरण भेटिएको छ । प्रशासनले भूमिहीन ठहरिएका १२ परिवारका लागि उनीहरूको स्थायी ठेगाना रहेको जिल्लामार्फत जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जनाएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार भूमिहीन परिवारलाई एक महिनाको घरभाडाबापत १५ हजार रुपैयाँ उपलब्ध गराउने र यसअघि पुनर्वास व्यवस्थापनका लागि दिने भनिएको २५ हजार रुपैयाँसमेत उपलब्ध गराउने भनिएको थियो । तर प्रभावित परिवारले रकम उपलब्ध गराउँदैमा दीर्घकालीन आवासको समस्या समाधान नहुने बताउँदै आएका छन् ।
काठमाडौँ महानगरपालिका र आसपासका नदीकिनारका बस्तीबाट विस्थापित परिवारको अवस्था झन् दयनीय बनेको छ । हाल इचंगुनारायण, खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरमा ९६ परिवारका ३८८ सदस्य सम्पर्कमा रहेका छन् । तीमध्ये इचंगुनारायणमा ४५, खरिपाटीमा ३२ र बोडेमा १९ परिवार छन् । सुरुमा २ हजार ६०८ परिवारका ११ हजार १०५ जनाको लगत संकलन गरिएकोमा डिजिटल सर्वेक्षणबाट २ हजार ८२ परिवारको मात्रै विवरण संकलन भएको थियो ।
होल्डिङ सेन्टरमा बसिरहेका परिवारमध्ये ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी तथा बालबालिकासमेत छन् । पर्याप्त खाना, स्वास्थ्य उपचार, यातायात र सरसफाइको समस्या रहेको उनीहरूको गुनासो छ । कतिपय बिरामीले अस्पतालसम्म पुग्न यातायात खर्चसमेत जुटाउन सकेको छैनन् । पटकपटक स्थानान्तरण गरिँदा बालबालिकाको पढाइ, बिरामीको उपचार र आवश्यक कागजात बनाउने कामसमेत प्रभावित भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले यसअघि नै वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने कार्यले उनीहरूको आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको अधिकार प्रभावित हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । आयोगले सम्बन्धित निकायलाई वैकल्पिक बसोबास सुनिश्चित नगरी परिवारलाई हटाउने कार्य नगर्न आग्रह गरेको थियो ।
नेपालको संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको छ । त्यस्तै, आवासको अधिकारसम्बन्धी ऐन, २०७५ ले आवासबाट हटाउने प्रक्रियामा सम्बन्धित नागरिकसँग परामर्श गर्नुपर्ने, पर्याप्त कारणसहित सूचना दिनुपर्ने र ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा गर्भवती महिलाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने व्यवस्था गरेको छ ।
भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ख मा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा आवश्यकताअनुसार आवास वा सामुदायिक बसोबासको व्यवस्था गर्न सकिने प्रावधानसमेत छ । यसले भूमिहीनको व्यवस्थापन केवल बस्ती हटाउने विषय नभई उनीहरूको आवास सुनिश्चित गर्नुपर्ने राज्यको दायित्वसमेत देखाएको छ ।