
काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै एक युवालाई १० लाख रुपैयाँ ठगी गरेको आरोपमा ६१ वर्षीया कमला सम्बाहाम्फे (लिम्बु) पक्राउ परेकी छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर जापान पठाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राख्ने र रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन हुने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले सम्बाहाम्फेलाई २०८३ मंसिर ७ गते काठमाडौँ महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-९ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-३१ मा बस्दै आएकी थिइन् ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ । यस घटनामा एक जना पीडित रहेको र १० लाख रुपैयाँ ठगी भएको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
तर, पक्राउ परेकी सम्बाहाम्फेविरुद्ध यसअघि पनि जग्गा तथा आर्थिक कारोबारमा ठगी गरेको आरोप लाग्दै आएको छ । उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेकी एकल दलित महिला विमला विकले आफ्नो जग्गा ललाईफकाई अर्काको नाममा पास गराउन लगाएको र अहिलेसम्म जग्गा वा त्यसबापतको रकम फिर्ता नगरेको आरोप लगाएकी छन् ।
विकले जिल्ला प्रशासन कार्यालय उदयपुरमा दिएको निवेदनमा नेपाली कम्युनिस्ट पार्टीकी कोशी प्रदेशसभा सदस्य सम्झना पाख्रिन र कमला सम्बाहाम्फेले आफूलाई विभिन्न आश्वासन दिएर जग्गा पास गर्न लगाएको उल्लेख गरेकी छन् ।
विकका अनुसार लिम्बुले केही समयका लागि जग्गा धितो राखेर रकम चलाउने, तोकिएको समयभित्र जग्गा फिर्ता गरिदिने आश्वासन दिएर जग्गा अरुको नाममा पास गराइ आफुलाई झुक्याएको थिइन् ।
उनका अनुसार साविक भुमरसुवा गाविस-४ स्थित कित्ता नम्बर ११२२ को १६ धुर ५० हात क्षेत्रफलको जग्गा २०७२ पुस १९ गते मालपोत कार्यालय उदयपुरमार्फत सम्बाहाम्फेको नाममा राजीनामा पास गरिएको थियो ।
तर, सहमतिअनुसार जग्गा फिर्ता नगरिए पछि विकले जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, त्रियुगा नगरपालिका लगायतका निकायमा पटकपटक निवेदन दिएकी थिइन् ।
त्यस्तै, सम्बाहाम्फेविरुद्ध उदयपुरकै जलजले-६ निवासी इन्द्रकमला राईको १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपसमेत लागेको छ । राईका अनुसार सम्बाहाम्फेले २०७१ मंसिर १९ गते घरखर्च चलाउन भन्दै तीन महिनाभित्र फिर्ता गर्ने सर्तमा रकम सापटी लिएकी थिइन् ।
कमलाले आर्थिक समस्या परेको भन्दै सुरुमा पाँच लाख रुपैयाँ मागेको र पछि विभिन्न कारण देखाउँदै थप रकम लिएको राईले बताएकी छन् । तत्काल नगद नभएपछि आफूले आफ्नो नाममा रहेको उदयपुर जलजले-६ स्थित एक कठ्ठा आठ धुर जग्गाको धनीपूर्जा सम्बाहाम्फेलाई दिएको उनको भनाइ छ । उक्त धनीपूर्जा देखाएर रकम लिएपछि सम्बाहाम्फे सम्पर्कविहीन भएको राईको आरोप छ ।
राईका अनुसार जग्गा धनीपूर्जा लगेको भोलिपल्टदेखि नै सम्बाहाम्फे सम्पर्कविहीन भएकी थिइन् । पछि आफू ठगिएको महसुस भएपछि पटकपटक सम्पर्कको प्रयास गरे पनि सफल नभएको उनको भनाइ छ ।
जापान पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी सम्बाहाम्फेविरुद्ध यसअघि सार्वजनिक भएका जग्गा र आर्थिक कारोबारसम्बन्धी आरोपहरूको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने पीडितहरूको माग छ । यद्यपि, ती आरोपमा सम्बाहाम्फेको पक्षको प्रतिक्रिया तथा सम्बन्धित निकायबाट भएको अनुसन्धानको आधिकारिक निष्कर्ष सार्वजनिक हुन बाँकी छ ।
प्रहरीले भने वैदेशिक रोजगारीको नाममा ठगी गरेको पछिल्लो घटनामा उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाएको जनाएको छ ।