
काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको बाध्यतालाई आर्थिक लाभको माध्यम बनाउँदै स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम असुलिएको र संकलित रकम गैरकानुनी रूपमा विदेश पठाइएको प्रकरणले राज्यको उच्च प्रशासनिक तहसम्म तरंग सिर्जना गरेको छ । यही प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
श्रमिकमाथि भएको भनिएको संगठित ठगी र विदेशी मुद्रा अपचलनसम्बन्धी अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अर्याललाई भारतको कोलकाताबाट पक्राउ गरेको हो । उनलाई आजै नेपाल ल्याउने तयारी भइरहेको सिआइबीले जनाएको छ ।
पक्राउ पर्ने सम्भावना बढेपछि उनी भारत पुगेको र कोलकाताबाट भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा नियन्त्रणमा लिइएको हो सिआइबीका एक अधिकारलिे बताए ।
उनीविरुद्ध यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
अर्यालमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत रहँदा मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा निर्धारित शुल्कभन्दा बढी रकम असुल्ने र त्यसरी संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ । सीआईबीले अनुसन्धानका क्रममा उनको भूमिका देखिएको भन्दै पक्राउ प्रक्रिया अघि बढाएको हो ।
उनीबिरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने ठूलो संख्याका नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रियाका नाममा अतिरिक्त शुल्क असुलिएको आरोप छ । मलेसिया जाने श्रमिकबाट निर्धारित शुल्कबाहेक थप १०० मलेसियन रिंगिट असुल्ने गरिएको थियो । यसका लागि स्वास्थ्य परीक्षण गर्ने मेडिकल संस्थाहरूबीच सिन्डिकेट खडा गरिएको र करिब २९ वटा संस्थामार्फत अतिरिक्त रकम संकलन भएको अनुसन्धानमा खुलेको बताइएको छ ।
मलेसिया रोजगरीका नाममा करिब सात लाख श्रमिकबाट अतिरिक्त शुल्क असुलिएको र गैरकानुनी रूपमा संकलित रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ बराबरको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा सरकारी अधिकारीहरूको संलग्नता रहेको आरोप छ ।
यस प्रकरणमा सीआईबीले यसअघि नै दुई पूर्वश्रममन्त्रीसहित मन्त्रालयका छ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
त्यसअघि नै मेडिकल व्यवसायी कैलाश खड्कासहित रवीन्द्र केसी, प्रविण तिवारी र रामपुकार तिवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।