टाटा समूह र सिप्रदियनद्वारा नुवाकोटका बाढी प्रभावित परिवारलाई २ हजार स्टिल दराज सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । टाटा समूह र सिप्रदियन सहायता संस्थाले हिमताल विस्फोटबाट आएको बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई २ हजार थान स्टिल दराज हस्तान्तरण गरेका छन् । ‘एक टाटा नेपाल विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्थाको सहकार्यमा प्रभावित परिवारलाई स्टिल दराज हस्तान्तरण गरिएको हो ।

बाढीका कारण घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा सञ्चालन गरिएको यस पहलले प्रभावित परिवारको पुनर्स्थापनामा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

दैनिक जीवनमा आवश्यक पर्ने घरायसी सामग्री सुरक्षित राख्न सहज होस् भन्ने उद्देश्यले स्टिल दराज उपलब्ध गराइएको आयोजकले जनाएको छ । यो कार्यक्रम प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापनाका लागि सञ्चालन भइरहेको बृहत् प्रयासको एक हिस्सा हो ।

दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी-एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी, वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालिया तथा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीलगायत विभिन्न प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्य तत्काल राहतमा मात्र सीमित हुन नहुने बताए । प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापित गर्दै उनीहरूलाई सामान्य जीवनमा फर्किन र सुरक्षित भविष्य निर्माण गर्न सहयोग गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

उनले ‘एक टाटा नेपाल विपद् प्रतिकार्य कार्यक्रम’ मार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापनामा निरन्तर साथ दिन प्रतिबद्ध रहेको बताए ।

त्यसैगरी, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले समाजप्रतिको जिम्मेवारी व्यवसायमा मात्र सीमित नहुने बताए । वास्तविक आवश्यकता भएका व्यक्तिसम्म अर्थपूर्ण सहयोग पुर्‍याउनु संस्थाको उद्देश्य रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा रहेका समुदायलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले अझ समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा योगदान पुर्‍याउन संस्था निरन्तर क्रियाशील रहने बताए ।

सम्बन्धित खबर

सिफारिस