
काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत चंखेली गाउँपालिका-४ निवासी पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै रकम माग गर्न जाँदा अध्यक्ष शाहीले बिहीबार आफ्नै कार्यकक्षमा कुटपिट गरेको चालक सिंहको आरोप छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहका अनुसार पीडित सिंह विगत ६ वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत थिए ।
कुटपिटबाट घाइते भएका सिंहलाई प्रारम्भमा जिल्ला अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि नेपालगन्ज पठाइएको सूचना अधिकारी सिंहले जानकारी दिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।