प्रधानमन्त्री शाह आइतबार भारत जाँदै, यस्तो छ भ्रमण तालिका

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने जानकारी गराएको हो ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।

नेपालबाट प्रस्थान गर्ने सरकारी प्रतिनिधिमण्डल ३४ सदस्यीय हुनेछ । यसमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य थपिनेछन् । त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।  भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम छ । व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका प्रधानमन्त्रीबीच छलफल हुनेछ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने दिवाभोजमा पनि शाह सहभागी हुनेछन् ।

यसैगरी प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । आइतबार नै भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत तय भएको छ।

भ्रमणका क्रममा नेपाल-भारत व्यापार मञ्चको छलफल कार्यक्रम पनि आयोजना हुनेछ । उक्त कार्यक्रममा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर र सरकारले अवलम्बन गरेका नीतिगत व्यवस्था तथा प्रयासबारे जानकारी गराइनेछ। साथै भारतीय व्यवसायीका चासो र सरोकार सुन्ने तथा नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तार गर्ने उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६ः३५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ।

भ्रमणपछि प्रधानमन्त्री शाहको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस ब्रिफिङसमेत आयोजना गरिने मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस