
काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सुनकोसी नदीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकी सम्झना राईलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अबि नारायण काफ्लेका अनुसार खोटाङको दिक्तेल नगरपालिका-३ स्थायी ठेगाना भएकी राईलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर ल्याइएको हो ।
दुर्घटनामा घाइते भएका चालकसहित अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि सिन्धुली जिल्ला अस्पताल रिफर गरिएको थियो ।
घाइते हुने अन्यमा खोटाङको दिक्तेल नगरपालिका-३ की सिवानी राई, दिक्तेल नगरपालिका-१ का १३ वर्षीय अंकित विक तथा ओखलढुंगाका २९ वर्षीय जीप चालक आशीष विष्ट रहेका छन् ।
आइतबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमाे जिप सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको थियो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।