
काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमी पर्व आज देशभर दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदैछ। बडादसैँको आठौँ दिन मनाइने यस पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ।
महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने मान्यताअनुसार विभिन्न शक्तिपीठ, दसैँघर तथा कोतमा विधिपूर्वक पूजा र पशुबलि दिने गरिन्छ। यस अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने चलन छ।
धर्मशास्त्रविद्हरूका अनुसार आसुरी प्रवृत्तिको नाश र देवीको आराधनासँग जोडेर महाअष्टमीमा बलि दिने परम्परा रहिआएको छ। यद्यपि ब्राह्मणका लागि पशुबलि वर्जित रहेको धार्मिक मान्यता छ । पशुबलि नदिनेहरूले आफ्नो कुलपरम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला तथा नरिवल चढाएर पूजा गर्ने गर्छन्।
महाअष्टमीका दिन काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, दक्षिणकाली, बगलामुखीलगायत शक्तिपीठमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ।
त्यस्तै, उपत्यकाबाहिरका गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती तथा ताप्लेजुङको पाथीभरा मन्दिरलगायत शक्तिपीठमा पनि श्रद्धालुहरूको घुइँचो लाग्ने गर्छ।
यस दिन कलपुर्जा, हातहतियार तथा यातायातका साधनलाई सफा गरी देवी स्थापना गरिएको स्थानमा राखेर पूजा गर्ने चलन छ। ती साधनलाई देवीका शस्त्रअस्त्रका रूपमा मानी पूजा गरिन्छ। देवीका शस्त्रअस्त्रसँगै चतुरङ्गिणी सेनाको आह्वान गरी पूजा गर्ने धार्मिक परम्परासमेत रहेको छ।
महाअष्टमीको राति हनुमानढोकास्थित दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिएर कालरात्रि पूजा गर्ने परम्परा छ। कालरात्रिको पूजा, विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसलाई विशेष महत्त्वका साथ मनाइन्छ।