करदाता प्रोत्साहन : नुवाकोटकी सन्तमाया तामाङले जितिन् १० लाखको बम्पर उपहार

दियोपोस्ट संवाददाता

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत ट ३ हजार रुपैयाँको सामग्री खरिद गर्ने एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेकी छन् । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी हुुन् ।

दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो ।

काठमाडौँको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए ।

आन्तरिक राजस्व विभागका अनुसार कार्यक्रममा बम्पर उपहारबाहेक १६ जना दैनिक विजेता पनि छनोट भएका छन् । असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका एक-एक जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

दैनिक उपहारको घोषित राशि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा १ लाख रुपैयाँ जम्मा हुनेछ ।

असोज १६ देखि ३१ गतेसम्मको अवधिमा २ लाख ७५ हजार ८८४ कारोबार बिल प्रविष्ट गरेर कार्यक्रममा सहभागी भएका थिए । क्यूआर भुक्तानीमार्फत स्वतस् दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए ।

बम्पर तथा दैनिक उपहारका सबै विजेताले आगामी कात्तिक १५ गतेभित्र आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने विभागले जनाएको छ ।