
काठमाडौंँ । मैले शीर्षकमै किन राजनीतिक हत्या भनेर लेख्दै छु भन्ने तपाईँको मनमा आयो होला । व्यक्तिको मृत्युमा कसरी राजनीतिक हत्या भन्न मिल्छ भन्ने पनि लाग्ला । तर मैले बुझेको डा. विजय पौडेल, उनको सादगीपन, उनले राजनीतिक रुपमा पाएका वा दिइएका दुख र राजनीतिक व्यक्तित्वहरूको स्वार्थको राजनीतिमा वास्तवमै उनी अति पीडित बने र अन्ततः उनको मृत्यु भयो । उनको मृत्युको कारण नै राजनीति हो भनेपछि अल्प आयुमै भएको उनको अवसान एक हत्या नै हो ।
अब डा. विजय पौडेललाई मन नपराउनेहरूले मलाई गाली गर्न थाल्नेछन् । तर म गाली खान तयार भएरै यो ब्लग लेख्दै छु ।
२०८३ असोज २६ गते सोमबार अपराह्न करिब ४ः३० बजे ।
एकाएक डा. विजय पौडेलको निधनको खबर आयो । शालीन, शान्त र विद्वान् पौडेल यति चाँडै मर्ने वा मर्नुपर्ने व्यक्ति थिएनन् भन्ने नै मनमा लागिरह्यो ।
दियोपोस्टको कार्यालयबाटै केही व्यक्तिहरुलाई फोन गर्दै थिएँ, समाचारका लागि । थप फोन गर्न मन लागेन ।
प्रधान सम्पादकको कोठामा गएँ, उहाँ कतै बाहिर जानुभएको थियो ।
म केही नबोली सरासर आफ्नो झोला बोकेर कीर्तिपुरस्थित बर्न अस्पतालतर्फ लागेँ । किनभने उनको शरीर कीर्तिपुरको बर्न अस्पतालमा छ भन्ने जानकारी पाएको थिएँ ।
मलाई जसले पौडेलको मृत्युको जानकारी दिनुभएको थियो, उनले मलाई मृत्युको कारणमा हृदयाघात बताएका थिए ।
तर अनामनगरबाट कीर्तिपुर पुग्दासम्म पनि मोटरसाइकलमा त्यही शान्त बोली, स्वभाव दिमागमा आइरह्यो । मनमा यत्ति मात्रै सोच आयो कि उनको यो मृत्यु स्वाभाविक हुँदै होइन । चाहे हृदयाघात होस्, चाहे आत्महत्या, यो वास्तवमा उनको हत्या नै हो भन्ने मनमा लागिरह्यो । किनभने मैले उहाँ अध्यक्ष रहनुभएको जनता टेलिभिजनमा काम गर्दा उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको बालुवाटार टिमले दिएको राजनीतिक र आर्थिक सास्तीको केही साक्षी म पनि थिएँ । माधव नेपाल पक्षमा खुल्दा केपी ओली पक्षले दिएको मानसिक र आर्थिक यातनाको म साक्षी थिएँ ।
डा. पौडेलसँग मेरो परिचय
राजनीतिक रुपमा मलाई खासै चासो रहँदैन । म राजनीतिक दल भन्दा पनि व्यक्ति विशेषमा चासो राख्ने र प्रभावित हुने वा फिटिक्कै मन नपराउने व्यक्ति हुँ । मलाई काँग्रेसका चन्द्र भण्डारी र रमेश लेखक साह्रै मन पथ्र्यो । गृहमन्त्री भएपछि विविध काण्ड, उनको सचिवालयको आर्थिक अपचलन र ९० प्लेट मो मो प्रकरणपछि लेखकप्रतिको अथाह श्रद्धा करिब करिब सकियो । यद्यपि मैले उहाँसँग यो विषयमा कुरा गर्न पाएको छैन । चन्द्र भण्डारी भने सत्तामा नपुगेकाले होला, मलाई अहिले पनि औधी मन पर्छ ।
एमालेमा मलाई गोकर्ण विष्ट साह्रै असल लाग्ने पात्र हुन् । उनले गलत नगरेको भएर हो वा उनको गलत कामबारे थाहा नभएर हो, मलाई अहिले पनि उनी उत्तिकै श्रद्धाका पात्र लाग्छन् ।
मलाई माओवादीमा युवापुस्ताका सरल सहयात्री साह्रै प्रिय लाग्छन् । राप्रपाकी खुश्बु ओलीको बौद्धिक क्षमता र अध्ययनको म फ्यान हुँ । रास्वपाका मनिष झा, शिशिर खनालहरू प्रिय लाग्छन् ।
पत्रकार भए पनि मैले राजनीतिक बिटमा खासै पत्रकारिता नगरेको कारण मैले डा. विजय पौडेललाई कहिल्यै चिनेको थिइनँ । तर २०७४ को जेठ महिनातिर मलाई एकाएक जनता टेलिभिजनबाट फोन आयो ।
न्युज २४ मा कार्य गर्दाका सिनियर दीपेन्द्र दोङ (उहाँ पनि अल्पायु मै बित्नुभयो)ले फोन गरेर सहकार्यका लागि प्रस्ताव राख्नुभयो । छलफलमा बोलाउनु भएपछि म गएँ र डा. विजय पौडेलसँगै बसेर कार्यक्रमको फम्र्याट लगायतका विषयमा कुराकानी भयो । न्युज २४ मा पावर न्युज जस्तै कार्यक्रम गर्ने र टिमसमेत दिने भनेपछि म तयार भएँ । मैले त्यति बेला नै एक प्रोडुसर, एक प्रिजेन्टर, कम्तीमा मसहित ३ जना रिपोर्टर र एक डेडिकेटेड भिडियो पत्रकार दिनुपर्ने सर्त राखेँ ।
अनि मैले मागेको जति तलब दिने भएपछि म टेलिभिजनमा आबद्ध हुने भएँ । रामकुमार एलनलाई प्रोडुसर तथा प्रस्तोताका रुपमा प्रस्तुत गर्ने भइयो ।
त्यसपछि म जनता टेलिभिजनमा आबद्ध भएँ र पत्रकार साथी केशवराज जोशीलाई पनि टिममा भित्राएँ । त्यहीँ कार्यरत अस्मिता रिजाललाई पनि टिममा ल्याएर सातामा ६ दिन कार्यक्रम चलाउने गरी तयारी गरियो । अनि आइडी निर्माणदेखि प्रोमो सुटिङ आदि तयार पारियो, कार्यक्रम बाइलाइनका नाममा ।
हामीले बाइलाइन कार्यक्रम २०७४ को भदौ महिनादेखि सुरु गर्ने तयारी गरेका थियौँ । तर यहीबिचमा भारतीय गिरोहले कीर्तिपुरमा खेलाएको क्रिकेटमा म्याच फिक्सिङ सूचना आएपछि गोप्यरुपमा रिपोर्टिङ गरेर हामीले पर्दाफास गरिदियौँ । उक्त कार्यक्रम बाइलाइनको आइडी र लोगो बिना नै प्रसारण गरिएको थियो, जसको प्रमाण अहिले पनि युट्युबमा सुरक्षित छ ।
त्यति बेला अरुण जोशी, जो न्युज चिफ हुनुहुन्थ्यो, उहाँले पनि खुबै सहयोग गर्नुभएको थियो र त्यही कार्यक्रमको जगबाटै हामीले बाइलाइन कार्यक्रमको सुरुवात गरेका थियौँ ।
त्यसपछिका बाइलाइनका कार्यक्रमहरू एकपछि अर्को हिट र युट्युबको ट्रेन्डिङमा जाने बनेको थियो र पटक पटक ट्रेन्डिङको नम्बरमा आउने गर्दथ्यो । कार्यक्रमबाट अध्यक्ष डा. विजय पौडेल सन्तुष्ट नै हुनुहुन्थ्यो ।
विज्ञापन गर्न हिचकिचाउँथे व्यवसायी
कार्यक्रम हिट भएपछि विज्ञापन आउनु स्वाभाविक थियो । न्युज २४ मा कार्यरत रहँदा २६ मिनेटको कार्यक्रममा विज्ञापन धेरै हुँदा ११ मिनेटको मात्रै कार्यक्रमको सीमा दिइएको मलाई याद छ । तर जति मिहेनत गरे पनि उक्त टेलिभिजनमा विज्ञापन नै आउँदैनथ्यो । मलाई यो कुराले अचम्मित बनाउँथ्यो । त्यसपछि एबीसी टेलिभिजनमा कार्यरत रहँदा मार्केटिङ म्यानेजर (पछि जिएम) निमेष खनालको मार्केटिङ शैलीबारे जानकार मैले निमेषलाई जनतामा ल्याउन अध्यक्ष पौडेलसँग आग्रह गरेँ । उनले मेरो प्रस्ताव स्वीकार गरे निमेषलाई टेलिभिजनमा भित्राए, तर पनि विज्ञापन खासै आएन ।
किन विज्ञापन आइरहेको छैन भनेर एक दिन विजय पौडेल सरसँग म आफैँ भेट्न गए, उनले राजनीतिक कारणले जनता टेलिभिजनमा विज्ञापन आउन ब्लक गरिएको बताए ।
वास्तवमा उनी नेकपा एमालेको तर्फबाट संविधानसभामा सदस्य रहिसकेका एक दार्शनिक व्यक्ति र नेता थिए । तर उनको लाइन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग होइन, माधवकुमार नेपालसँग मिल्यो । पहिले शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा र पछि केपी शर्मा ओली प्रधानमन्त्री बन्दा पनि उनलाई केपी शर्मा ओली पक्षले कहिल्यै पनि सहयोगी नजरले हेरेका रहेनछन् ।
यदि कहीँ कतैबाट विज्ञापन दिने पक्का भए पनि केपी ओली पक्षबाट खबरदार गरिँदो रहेछ र कन्फर्म भइसकेको विज्ञापन पनि रोकिँदो रहेछ । म आफै प्रोडुसर भएको कारण कार्यक्रम सञ्चालन गर्नका लागि पनि विज्ञापन आवश्यक हुँदा केही स्थानमा कुरा गर्न सँगै गएको थिएँ ।
केपी शर्मा ओली प्रधानमन्त्री भइसके पछिको कुरा थियो, सरकारी स्वामित्व रहेको एक बैंकमा गएर कार्यक्रमको फम्र्याट, केही कार्यक्रम आदि सबै देखाएर मासिक २ लाख रुपैयाँ दिने गरी समझदारी गरेर हामी फर्किएका थियौँ । तर त्यसको पर्सिपल्ट नै उक्त बैंकबाट फोन आयो । अनि भनियो, ‘हामीसँग भएको सहमति पालना गर्न नसक्ने भयौँ, विज्ञापन नदिनु भनेर बालुवाटारबाट दबाब आयो ।’
यो त म प्रत्यक्ष जोडिएको घटना थियो, यस्ता कैयन् घटनाहरू डा. विजय पौडेलले सुनाउनु भएको थियो ।

डा. विजय पौडेल एमालेकै नेता भए पनि वैचारिकरुपमा माधवकुमार नेपालसँग नजिक हुँदा डा. विजय पौडेल अध्यक्ष बनेर टिभी खोलिएकै कारण उनलाई दिइएको दुखको सामान्य उदाहरण थियो त्यो ।
बरु त्यही बेलामा एमालेको टिभी बनाउने भनेर पूर्व माओवादी पत्रकार शुभशंकर कँडेलको एबीसी टेलिभिजनमा केपी शर्मा ओलीले रकम हालिदिएको चर्चा थियो, जुन जनता टेलिभिजनलाई देखाइदिन कै लागि थियो ।
डा. विजय पौडेल अर्थशास्त्रमा पिएचडी गरेका विद्वान् थिए । उनी कुनै बैंकमा कन्सल्टेन्ट वा सल्लाहकार भएर मासिक ४।५ लाख रुपैयाँ कमाउन सक्थे । केपी शर्मा ओलीको भजन गाउन सकेको भए, उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, सांसद, मन्त्री आदि सबै बन्न सक्थे, टेलिभिजन पनि सायद राम्रैसँग चल्थ्यो ।
तर केपी ओलीसँगै वैचारिक मतभेद भएर माधवकुमार नेपाल पक्षमा खुलेपछि उनी केपी शर्मा ओलीको दुस्मन बने, त्यसपछि नै उनको उँधो गति सुरु भयो ।
राजनीतिक विचारसमेत सम्प्रेषण गर्न खोलिएको जनता टेलिभिजनमा त्यति बेला एमालेका धेरै शुभचिन्तकले प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले हालेका थिए । डा. विजय पौडेल लगायतका केही व्यक्तिले ५० लाख रुपैयाँका दरले हालेको जस्तो लाग्छ मलाई ।
स्थापनाकालमा उत्कृष्ट एमसिआर बनाएर सुविधा सम्पन्न सामान भित्राएको यो टेलिभिजनको खर्च अत्यधिक थियो । तर बजारबाट विज्ञापन आउन राजनीतिक रूपमै रोक लगाइएपछि टेलिभिजन सुरुमा त्यही सेयर धनीको पैसाले चल्यो ।
माधव नेपालको रिसमा डा. विजय पौडेल पनि ओली पक्षको कोप भाजनमा परेपछि बजारबाट विज्ञापन आउनै सकेन र बिस्तारै समस्यामा पर्न थाल्यो । मैले पनि करिब एक वर्ष काम गरे जनता टेलिभिजनबाट बिदा भएँ ।
…………………………………..
कोरोना कालको समयमा रातोपाटीमा कार्यरत रहँदा जनता टेलिभिजनबाट फेरि फोन आयो, अध्यक्ष ज्यूले भेट्न खोज्नुभएको छ भनेर । मैले त्यति बेला नचिने पनि मलाई लाग्छ उक्त फोन त्यति बेला सायद मिलन राईले गरेका थिए, जो डा. विजय पौडेलका निजी सचिवका हैसियतमा थिए ।
त्यसको सायद तीन चार दिनमा म उहाँलाई भेट्न बानेश्वरको जनता टेलिभिजनको कार्यालयमा गएको थिएँ ।
भेटमा उहाँले सामान्य औपचारिकताका कुराहरू गरेपछि फेरि पनि बाइलाइन कार्यक्रम चलाउनु पर्यो भन्दै बोलाउनुभयो । दैनिक रूपमा सञ्चालन गर्ने आधा घण्टाको प्याकेज कार्यक्रमले केही न केही परिवर्तन वा सुधार ल्याओस् भन्ने उनको चाहना थियो ।
त्यसपछि मैले सर्त राखेँ, कम्तीमा केन्द्रको टिममा एक प्रोडुसर, प्रिजेन्टर र कम्तीमा २ जना रिपोर्टर र एक डेडिकेटेड क्यामेरा पर्सन हुनुपर्नेछ । त्यस्तो हुँदा केन्द्रबाट सातामा ३ दिन र जिल्लाबाट सातामा ३ दिन कार्यक्रम बनाउन सकिनेछ भन्ने कुरा बताएँ । अनि त्यसका लागि डेडिकेटेड टिम चाहिने कुरा बताएँ ।
उनले टिम दिने र तलब पनि मागेको जति दिने भएपछि म जनता टेलिभिजनमा जान फेरि तयार भएँ । त्यसपछि धिरज बस्नेत, नीरज तामाङ र शिखा श्रेष्ठलाई टिममा भित्राएँ । अनि फेरि सुरु भयो बन्द भएको कार्यक्रम बाइलाइनको पुनः प्रसारण । त्यति बेला सायद २०७७ भदौ महिना थियो ।
कार्यक्रम सुरु गरियो र त्यति बेला कार्यक्रम पनि उत्कृष्ट नै बनाइएको थियो जस्तो लाग्छ । सातमा कम्तीमा एउटा कार्यक्रम युट्युबको ट्रेन्डिङमा आउँथ्यो, डिजिटल रेभिन्यु पनि राम्रै थियो । तर जब कार्यक्रमको बिचमा विज्ञापन हाल्नुपथ्र्यो, हालत फेरि त्यही थियो ।
माधव नेपाल गुटमा रहेको कारण जनता टेलिभिजनलाई विज्ञापन नदिन बालुवाटारबाटै निर्देशन दिइन्थ्यो, सम्झौता भएका विज्ञापनहरू पनि धमाधम रद्द हुन्थे । त्यति बेला विज्ञापन नदिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल लागिपरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको भूमिका झन् बढी धूर्त र छलकपटयुक्त थियो ।
कार्यक्रम राम्रो बनाए पनि विज्ञापनको समस्या यथावत् रहेकै समयमा एउटा विदेशी प्रोजेक्ट आएपछि म त्यही प्रोजेक्टमा काम गर्न निस्किएँ, त्यसपछि डा. विजय पौडेलसँग काम गर्न पाइएन ।
आफ्नै सबै सम्पत्ति बेचेर दिएका थिए तलब
डा. विजय पौडेल अन्य केही सञ्चार उद्यमीजस्तो धम्क्याउने वा गिडगिडाउने गर्दैनथे । उनले कहिल्यै कुनै विषयमा समाचार नहाल्न वा कुनै व्यक्ति वा संस्था विशेषको विरुद्धमा समाचार बनाउन भनेनन् । समाचार शहीद बनाएर विज्ञापनको डिल गरेको कहिल्यै देखिएन, सुनिएन । उनी एक आदर्श व्यक्तिको रूपमा रहे, बसे । त्यही आदर्शले आज उनको ज्यान लियो ।
टेलिभिजन चलाउन कठिन हुन थालेपछि उनले कलंकीमा रहेको आफ्नो घरसमेत बेचेर कर्मचारीलाई तलब खुवाएका थिए । अन्य सञ्चालकहरूले लत्तो छाडेपछि आफ्नै माइलस्टोन सहकारीबाट समेत ऋण ल्याएर सम्भव भएसम्मको तलब खुवाइरहे, आफ्नै जग्गा बैंकले लिलामीमा निकाल्यो र सायद त्यो जग्गा पनि बैंकले आफ्नो बनाइसकेको होला ।
तर राजनीतिक विचारसमेत प्रकट गर्ने भनेर खोलिएको टेलिभिजन निरन्तर घाटामा जाँदा त्यसको भार भने डा. विजय पौडेलले मात्रै बोक्नुपर्यो ।
जनता टेलिभिजनको तनावकै कारण डा. विजय पौडेललाई यसअघि नै २ पटक हृदयाघात भइसकेको थियो । यद्यपि उनी हृदयको मात्रै घात होइन, साथीभाइ, राजनीतिक गुरु र चेलाहरूको घात बोकेरै एक्लै हिँडिरहेका थिए, बाँचिरहेका थिए ।
केही समय अगाडि जनता टेलिभिजनमै कार्यरत एक कर्मचारीले हालेको चेक बाउन्सको कसुरमा उनी पक्राउ परेका थिए, यद्यपि भोलिपल्टै रकम तिरेर उनी फिर्ता भएका थिए ।
जनता टेलिभिजनका लागि लिएको बैंकको ऋणको कारण उनको व्यक्तिगत बैंक खाता, टेलिभिजनको खाता र परिवारका केही सदस्यको खातासमेत रोक्का थियो ।
स्याटलाइटको पैसा तिर्न नसक्दा टेलिभिजनको खाता बन्द थियो, नेपाल विद्युत् प्राधिकरणको विद्युत्को बक्यौता तिर्न नसक्दा विगत १० दिनदेखि टेलिभिजनमा विद्युत् काटिएको थियो ।
यही बिचमा डा. विजय पौडेल जोडिएको एक सहकारीमा जनता टेलिभिजनमै कार्यरत पूर्व कर्मचारीले ब्याजमा लगाएको रकम फिर्ता नआएपछि प्रहरीमा उजुरी दर्ता गराएका थिए र सोमबार ३ बजे प्रहरी कार्यालयमा छलफलका लागि बोलाइएको थियो ।
आफ्नो कारोबार ध्वस्त, खाता बन्द भएपछि पौडेलले विभिन्न व्यक्तिहरूसँग ५ हजार, १० हजार रुपैयाँसम्म मागेको जानकारी आएको थियो । उनी नगदमै कारोबार गर्न बाध्य थिए, जिन्दगी सापटमै चलिरहेको थियो, तर उनको इमान र आदर्श न धितोमा थियो, न लिलाममा ।
सोमबार घरमा जमरा राखेर जनता टेलिभिजनमा पुगेर पूजा गरेको जनता टेलिभिजनका कर्मचारीले यो पङ्क्तिकारलाई बताएका छन् । टेलिभिजनबाट फर्केर घर जाँदै गर्दा मनमा अनेक कुरा खेले होलान् । दसैँको मुखमा जनता टेलिभिजनमा कर्मचारीको आन्दोलन छँदै थियो, घरको तनाव, बैंकको तनाव, खाता रोक्का, टेलिभिजन नवीकरण नहुनु आदि तनावकै बिचमा फेरि सहकारीको तनाव थपिएको थियो ।
त्यही तनावले सायद उनको मनमा थप तनाव ल्याइदियो र उनले देह त्याग गर्ने सोच बनाए ।
सोमबार नै कीर्तिपुरस्थित उनको पार्थिव शरीर रहेको अस्पतालमा पूर्व निजी सचिव मिलन राईसँग भेट भयो । मिलन राई डा. विजय पौडेलको आर्थिक समस्याका बारेमा उनकै भनाई उद्धृत गर्दै भन्दै थिए, ‘मिलन बाबु, मैले कुनै रकम दुरुपयोग गरेको होइन, पुख्र्यौली सम्पत्ति जाला, भएको सम्पत्ति जाला, हदै भए जेलमा लैजाने त होला । बरु जोगी भएर हिँड्छु, तर आत्महत्याचाहिँ गर्दिन ।’
तर उनको ती वाक्यहरू आत्मविश्वास थिएन, बरु पूर्वसंकेत थियो, भविष्यको चिन्ता थियो र आउने परिणामको पूर्वानुमान थियो ।
सम्भवतः मंगलबार पोस्टमार्टम होला र त्यसको रिपोर्ट पनि आउला । तर यो कुनै साधारण मृत्यु होइन । पोस्टमार्टमको रिपोर्टमा डा. विजय पौडेलको मृत्युको कारणमा हृदयाघात आउला वा आत्महत्या, तर म त भन्छु यो हत्या नै हो; अ मर्डर ड्यु टु पोलिटिकल रिभेञ्ज ।’
उनी जीवित हुँदा हामीले उनीमाथि गुज्रेको समय, समस्या, पीडा कहिल्यै बोध गरेनौँ । हामी सबैले दोष जति उनमा थोपरिदियौँ र सके जति दुहुनो गाई बनायौँ । अब मृत्युपछि पीडा देखाउनु भनेको गोहीको आँसु मात्रै हो ।
धितो लिलाम, सम्पत्ति लिलाम, राजनीतिक यात्रा लिलाम हुँदा पनि इमान, नैतिकता र आदर्श लिलाम नगर्ने कमरेड डा. विजय पौडेलप्रति हार्दिक श्रद्धा सुमन ।
(यो लेखकको निजी विचार हो, यसमा संस्थाको कुनै धारण रहेको छैन । – सम्पादक)