गण्डकी प्रदेश मन्त्री नन्दप्रसाद न्यौपानेको ‘फट्याइँ’ : निर्वाचन आयोगलाई योग्यता ढाँटेको खुलाशा

दियोपोस्ट संवाददाता

काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेले निर्वाचन आयोगलाई ढाँटेको खुलेको छ । उनले शैक्षिक योग्यताका विषयमा आयोगलाई गुमराहमा पारेका हुन् । उनले आयोगलाई गलत शैक्षिक योग्यता विवरण पेश गरेको भन्दै उजुरी दर्ता भएको छ ।

निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक व्यक्तिगत विवरणमा मन्त्री न्यौपानेले आफ्नो माथिल्लो शैक्षिक योग्यता (स्नातकोत्तर) उल्लेख गरेका छन् । तर, उनको औपचारिक शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण रहेको भन्दै मन्त्री न्यौपानेमाथि छानबिन तथा कारबाहीको माग गरेर निवेदन दर्ता भएको हो ।

आयोगमा दर्ता भएको ८०८ नम्बरको उजुरीपत्रमा गण्डकी प्रदेशका वर्तमान मन्त्री न्यौपानेले पेस गरेको विवरणमाथि गम्भीर प्रश्न उठाइएको छ । निर्वाचन आयोगमा दर्ता गराइएको निवेदनमा न्यौपानेको शैक्षिक योग्यताको सत्यता र प्रमाणिकताबारे छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ।

आयोगको वेबसाइटमा रहेको विवरणअनुसार गोरखा आरुघाट गाउँपालिका थलचोक बेशी स्थायी ठेगाना भएका नेपाली काँग्रेसका नेता न्यौपानेले शैक्षिक योग्यता स्नातक लेखे पनि ’शैक्षिक योग्यता हासिल गरेको संस्था’ को महल भने खाली राख्नुभएको छ।

उजुरीकर्ताले नेपालको संविधानको धारा २४६ तथा निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम छानबिन गर्न माग गरेका छन्। निवेदनमा न्यौपानेले कुन विद्यालयबाट एसएलसी वा सोसरहको परीक्षा उत्तीर्ण गर्नुभएको हो, कहिले उत्तीर्ण गर्नुभएको हो, कुन कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्नुभएको हो र कुन संस्थाबाट स्नातक तथा स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको हो भन्ने विषय सार्वजनिक रूपमा स्पष्ट र प्रमाणित हुनुपर्ने उजुरीकर्ताको माग छ । झूटो विवरण वा भ्रामक कागजात पेस गरेको प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउनसमेत माग गरिएको छ ।

जनताको मतबाट निर्वाचित भई प्रदेशको मन्त्रीजस्तो जिम्मेवार सार्वजनिक पद धारण गरेका व्यक्तिले आधिकारिक अभिलेखमा उल्लेख गरेको विवरणको सत्यतामाथि प्रश्न उठेपछि उनको नैतिकता र सार्वजनिक जवाफदेहितामाथि समेत बहस सुरु भएको छ ।
निर्वाचन कार्यालयले नै गलत विवरण राखिदिएको हो ः न्यौपाने
यता मन्त्री न्यौपानेले भने निर्वाचन आयोगले नै गलत विवरण भरिदिएको बताएका छन् । ‘त्यो बेला कम्प्युटर चलाउने काम निर्वाचन कार्यालयकै साथीहरुले गरेको हो । मैले स्नातक भनेको होइन । त्यहाँ लेख्नेले नै त्यसरी लेखिदिएका रहेछन्,’ उनले दियोपोस्टसँग भने,‘गल्ती रहेको विषयमा मैले निवेदन दिएको छु । निर्वाचन आयोगले गरेको गल्ती मैले कसरी सच्याउने ? तपाइँले निर्वाचन आयागलाई नै सोध्नुस् ।’ तर, आयोगको वेभसाइटमा भने न्यौपानेको शैक्षिक योग्यता स्नातक नै उल्लेख छ ।

सम्बन्धित खबर

सिफारिस