स्वरूप परिवर्तन गरिएका ६ सय ९९ मोटरसाइकल नियन्त्रणमा, उपत्यका ट्राफिक प्रहरीको विशेष अपरेसन

दियोपोस्ट संवाददाता

काठमाडौं- स्वरूप परिवर्तन (मोडीफाइड) गरेर सवारी चलाएको आरोपमा ठुलो सङ्ख्यामा मोटरसाइकल  तथा स्कुटरलाई नियन्त्रणमा लिइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनमा उपत्यकामा  चर्को आवाज निकालेर चलाएको र स्वरूप परिवर्तन गरिएका ६ सय ९९ वटा मोटरसाइकल तथा स्कुटर नियन्त्रणमा लिइएको हो  । स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्ने र सडकमा स्टन्टबाजी गरेर अन्य सवारीचालक र यात्रुलाई हैरान पारेपछि प्रहरीले त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिएको छ  ।

आगोको झिल्का निकाल्ने मोटरसाइकलका साथै चालकहरूलाई पनि सचेत गराएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए । उनका अनुसार यो २०८३ कार्तिक २६ गतेदेखि सुरु गरिएको हो । यसमा टिनएजदेखि ३० वर्ष भित्रका युवाहरू रहेका छन्, जसले ठुलो आवाजका साथ तीव्र गतिमा सवारी चलाउने गरेका छन् ।

सुवेदीले भने, ‘सम्बन्धित कार्यालयको स्वकृति नलिई  परिवर्तन गर्नु आफैँमा एउटा अपराध हो । यसले विद्यालय, कलेज, अस्पताल तथा व्यापारिक जस्ता आवासीय क्षेत्रमा प्रभाव पारेको छ । यसले जेब्राक्रसिङबाट हिँड्ने पैदलयात्री समेत असुरक्षित भएको र सडक सुरक्षामा ट्राफिक प्रहरीको दायित्व समेत भएकाले यो अभियान चलाएका हौँ।’

उनका अनुसार, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १९४ अनुसार सातदेखि १५ हजारसम्मको जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको छ । यो कारबाही गर्ने अधिकार यातायात कार्यालयलाई मात्र हुनेछ ।  त्यसैले, ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारीधनीलाई यातायात व्यवस्था कार्यालय पठाइने गरिएको छ ।

ट्राफिकले नियन्त्रणमा लिएको मोटरसाइकल सवारीधनी आफैँले अर्थात् आफ्नै खर्चमा मोटरसाइकललाई कम्पनीले निर्माण गरेको स्वरूपमै ल्याएर जरिवाना तिरेपछि मात्र चालकलाई हस्तान्तरण गरिने छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (३९) अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृत नलिई सवारी साधनको स्वरूप परिवर्तन गर्न पाइँदैन । प्रदेश यातायात व्यवस्था एन २०७५ ले पनि यसलाई कानुन विपरीत  मानेको छ ।

स्वरूप परिवर्तन गर्दा साइलेन्सर, डिभी किलर, लाइटिङ, पाङ्ग्रा र सिटमा परिवर्तन गर्ने गरेको पाइएको सुवेदीले बताए। “प्रहरी नियन्त्रणमा लिएको सवारीधनीको डिजिटल अभिलेख राखिनछ । यदि ५ पटक भन्दा बढी ट्राफिक नियम भएको पाइएमा लाइसेन्स निलम्बन गरिने व्यवस्था छ”, उनले भने ।

ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल सवारीधनी आफैँले पुरानै स्वरूप अर्थात् कम्पनीको ओरिजिनल पार्टपुर्जामा नै नफर्काएसम्म फिर्ता नदिने व्यवस्था रहेको छ । सवारीधनीले आफ्नै खर्चमा स्वरूप परिवर्तन गर्नुपर्छ । स्वरूप परिवर्तन छ कि छैन भनेर  ट्राफिक प्रहरी आफैले मोटरसाइकल चेक गरेपछि मात्रै फिर्ता लिन सकिन्छ ।

 

 

 

सम्बन्धित खबर

सिफारिस