
काठमाडौँ । धादिङको गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको अजयमेरु गाउँपालिका निवासी २८ वर्षीय बरुण प्रसाद भट्ट रहेका छन् ।
आज मंगलबार बिहान ११ बजे गल्छी गाउँपालिका-७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनापछि टिपर र चालक मकवानपुरको भीमफेदी गाउँपालिका-२ निवासी ३३ वर्षीय गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।