जातीय विभेद गर्ने शिक्षिकाद्वारा आफ्नै सहकर्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप

रीता बुढाथोकी

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका-६ स्थित भैरव प्राथमिक विद्यालयमा जातीय विभेद गरेको आरोपमा पक्राउ परेर छुटेकी एक शिक्षिकाले सोही विद्यालयकी अर्की शिक्षिका र कार्यालय सहयोगीलाई गाली-गलौज तथा ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।

विद्यालयकी शिक्षिका भगवती बडैला र उनका श्रीमान् डम्बर रोकायाले सोही विद्यालयकी शिक्षिका विना बिकलाई विद्यालय परिसरमै गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो ।

शिक्षिका विना बिकका अनुसार विद्यालयमा नियमित काम गरिरहेका बेला शिक्षिका बडैलाले आफूमाथि अनावश्यक आक्रोश पोख्ने गरेकी छन् । घटना बुधबार दिउँसोको हो । सधै झैँ समय मै विद्यालय पुगेकी शिक्षिका बिकले मुस्कुराउँदै ‘के छ मेडम, हालखबर?’ भनेर सामान्य अभिवादन गरिन् । तर शिक्षिका बडैलाले ‘तिमीलाई के मतलब ? मेरो हालखबर सोध्ने तिमी को हो ?’ भन्दै जवाफ फर्काएको उनले बताइन् ।

त्यसपछि आफू कक्षाकोठामा गएर विद्यार्थी पढाइरहेका बेला बडैलाले आफ्ना श्रीमान् डम्बर रोकायालाई विद्यालयमै बोलाएको बिकको भनाइ छ । शिक्षिका बडैलाका श्रीमान ‘कट्टु’ र ‘गन्जी’मा विद्यालय परिसरमा आएर आफूलाई तथानाम गालीगलौज गरेको उनले बताइन् ।

‘मेरो कुनै गल्ती नहुँदानहुँदै उहाँले मलाई गाली गर्न थाल्नुभयो । मेरो श्रीमतीको हालखबर किन सोधेको ? मेरो श्रीमतीसँग किन बोलेको ? अबदेखि बोल्ने होइन भन्दै मलाई धम्क्याउनुभयो,’ बिकले भनिन्, ‘विद्यालयका दलित समुदायका विद्यार्थी र बालबालिकालाई उक्साएर मुद्दा हाल्न लगाउने भन्दै उहाँले ममाथि विभिन्न आरोप लगाउनुभयो ।’

उनका अनुसार रोकायाले विद्यालयमै आएर गालीगलौज गरिरहँदा शिक्षिका बडैलाले समेत आफूलाई विभिन्न लाञ्छना लगाउँदै धम्की दिएकी थिइन् ।

‘म मेरो मर्जी गर्छु, मलाई कसैले केही गर्न सक्दैन । म क्षेत्रीकी छोरी हुँ, मार्न पनि पछि पर्दिनँ भन्दै उहाँले ज्यान मार्ने धम्की दिनुभयो,’ बिकले भनिन् ।

उनका अनुसार दिउँसो करिब १ बजेदेखि ३ः३० बजेसम्म विद्यालयमा पठनपाठन भइरहेकै समयमा आफूलाई गालीगलौज र धम्की दिइएको थियो । शिक्षिका बडैला र उनका श्रमान् गाली गलौजमा उत्रिएपछि विद्यालयको पठनपाठन समेत ठप्प भएको उनले बताईन् ।

विद्यालयमा दलित विद्यार्थीमाथि विभेद भएको विषय विद्यार्थी आफैले महसुस गरि आफू कहाँ आएर रुँदै बताएको र कार्यालय सहयोगीले पकाएको खाजा कुनै पनि शिक्षक शिक्षिकाले नखाने गरेको आफुले देख्दै आएको उनले बताइन् ।

‘यो एक दिनको घटना थिएन । वर्षौंदेखि विद्यालयमा यस्तो व्यवहार हुँदै आएको थियो । विद्यार्थीहरू आफैँ आएर विभेद भएको भन्दै रुन थालेपछि मैले उनीहरूलाई सम्झाएकी थिएँ,’ उनले भनिन्, ‘कार्यालय सहयोगी लक्ष्मी दिदीले पकाएको खाजा नखाने र प्रष्ट देखिने गरि जातीय बिभेद भएको मैले देख्दै आएकी छु । म आउनु भन्दा पहिले पनि यो विद्यालयमा यस्तै घटना हुँदै आएको रहेछ ।’

आफ्ना बालबच्चामाथि विद्यालयमै जातीय बिभेद भएपछि अभिभावकहरू आफैँ अगाडि आएर सञ्चारमाध्यम र सम्बन्धित निकायमा पुगेर उजुरी दिएको भएता पनि आफूलाई विद्यार्थी र अभिभावक उक्साएको आरोप लगाउँदै धम्की दिने गरिएको उनको भनाइ छ ।

‘जातीय विभेदको विषयमा बोल्दा अहिले ममाथि नै लाञ्छना लगाउने, गाली गर्ने र ज्यान मार्ने धम्की दिने काम भइरहेको छ । यसले गर्दा म आफूलाई असुरक्षित महसुस गरिरहेकी छु,’ बिकले भनिन्, ‘विद्यालयमा महिला कर्मचारीमाथि यसरी दिनदहाडै गालीगलौज र धम्की दिनु महिला हिंसासमेत हो । विद्यालयमा शान्ति सुरक्षा कायम गरी निर्वाध रूपमा पठनपाठन गर्ने वातावरण हुनुपर्छ ।’

शिक्षिका बडैलाले विद्यालयकी कार्यालय सहयोगी लक्ष्मीदेवी दमाइलाई समेत पटकपटक मानसिक यातना दिने र धम्क्याउने गरेको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत भइसकेका स्थानीय कैलाश आउजीले पनि शिक्षिका बडैला र उनका श्रीमानबाट विद्यालयका कर्मचारी तथा शिक्षिकामाथि धम्कीपूर्ण व्यवहार भइरहेको गुनासो आएको बताए ।

उनका अनुसार कार्यालय सहयोगी दमाइले समेत पटकपटक आफूलाई धम्की दिने गरिएको भन्दै गुनासो गरेकी छन् ।

‘भगवती बडैलाले सबैलाई धम्क्याउँदै हिँडेको भन्ने कुरा सुन्नमा आएको छ । उनीहरुले पटक पटक धम्की दिइरहेको भन्दै कार्यालय सहयोगी पनि मसंग रुनु भयो,’ आउजीले भने ।

उनका अनुसार बडैलाले कार्यालय सहयोगी दमाइलाई आफूले विगतमा सहयोग गरेको तर अहिले जातीय विभेदको विषयमा आफ्नो विरुद्ध बोलेको भन्दै धम्क्याउने गरेकी छन् ।

‘तँलाई मैले धेरै सहयोग गरेँ, समस्या पर्दा सहायता गरेँ, आफ्नै मान्छे सम्झेर बचाएँ । तर अहिले छुवाछुत गरेको भनेर मेरो विरुद्ध बोलिस्, तँलाई छाड्दिनँ,’ भन्दै धम्की दिने गरेको लक्ष्मीले आफूलाई सुनाएको आउजीले बताए ।

आउजीका अनुसार विद्यालयका विद्यार्थी र अभिभावकलाई उक्साएर आफूहरूविरुद्ध मुद्दा हाल्न लगाएको भन्दै उजुरीकर्तालाई बयान बदल्न र उजुरी फिर्ता लिन दबाब दिने गरिएको छ । त्यसो नगरे रक्तपात, काटमार हुने तथा जेल जानुपरे पनि नछाड्ने खालका अभिव्यक्ति दिने गरिएको उनको भनाइ छ ।

शिक्षिका बिकले समेत असुरक्षित महसुस भएको भन्दै आउजीलाई फोन गरेर सहयोग मागेकी थिइन् । आउजीका अनुसार बिकले राति करिब ९ बजे फोन गरी आफूलाई कुटपिट गर्ने, मार्ने र बेइज्जत गर्ने धम्की आएको बताएकी थिइन् ।

आउजीले विद्यालय परिसरमै शिक्षिका बिकमाथि भएको भनिएको गालीगलौज र धम्कीको विषयमा छलफल गर्ने तयारी भइरहेको बताए । छलफलबाट समस्या समाधान नभए इलाका प्रहरी कार्यालय र सम्बन्धित निकायमा उजुरी दिने तयारी रहेको उनको भनाइ छ ।

यता, विद्यालयका प्रधानाध्यापक नवराज उपाध्ययले आफु नभएको समयमा विद्यालयमा उक्त घटना भएको हुँदा आफुलाई त्यसबारेमा जानकारी नभएको बताए । यस विषयमा शिक्षिका विना बिकले आफुलाई जानकारी गराएको र यस विषयमा बिहिबार बैठक आयोजना गरिएको उनको भनाई छ ।

विद्यालयमा ‘संर्कीण’ सोँच भएका कर्मचारीका कारण विद्यालयकै बदनाम भएको र गल्ती गर्ने जो कोहीलाई कानुनी कठघरामा उभ्याइने उनले बताए ।

यसअघि विद्यालयमै दलित समुदायका विद्यार्थी तथा कर्मचारीमाथि जातीय विभेद र छुवाछुत गरेको आरोपमा गत असोज १४ गते तीन जना शिक्षक-शिक्षिका पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियाले शिक्षिका भगवती रेग्मी, भगवती बडैला र शिक्षक टेकराज उपाध्यायलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

विद्यालयमा दलित विद्यार्थीले छोएको पानी नपिउने, पानी लिन कथित उच्च जातका विद्यार्थीलाई मात्र पठाउने तथा दलित समुदायकी कार्यालय सहयोगीले पकाएको खाजा नखाने गरेको आरोप सार्वजनिक भएपछि उनीहरू पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका तत्कालीन डीएसपी हिरासिंह महराका अनुसार उक्त घटनासम्बन्धी उजुरी र विरोधपछि उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।

१० दिन हिरासतमा बसेपछि जनही तीन लाख रुपैयाँ धरौटी बुझाएर उनीहरू तारेखमा छुटेको बताइएको छ । त्यसपछि उनीहरू नियमित रूपमा विद्यालय आउन थालेका छन् । तर, विद्यालयमा जातीय विभेदको विषय उठाउने शिक्षिका र कार्यालय सहयोगीमाथि उल्टै गालीगलौज र धम्की दिने क्रम सुरु भएको पीडित पक्षको आरोप छ ।

विद्यालयमा भएको भनिएको जातीय विभेदको विषयले कानुनी प्रक्रिया अघि बढिसकेको अवस्थामा पीडित पक्ष र उजुरीकर्तामाथि थप दबाब तथा धम्कीका घटना भएको आरोप सार्वजनिक हुनुले विद्यालयको शैक्षिक वातावरण र शिक्षक(कर्मचारीको सुरक्षामाथि प्रश्न उठाएको छ ।