
काठमाडौँ । मकवानपुरको भीमफेदीमा सुमो गाडी दुर्घटना हुँदा मृत्यु भएका दुई जना र घाइते सात जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा परी रौतहटको चन्द्रपुर नगरपालिका-४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिनाको मृत्यु भएको छ । त्यस्तै, चन्द्रनिगाहपुरबाट सुमोमा चढेकी नामथर र ठेगाना नखुलेकी अर्की एक महिलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी रौतहटको चन्द्रपुर नगरपालिका-३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर-४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर-३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर-४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन् ।
घाइतेहरूलाई स्थानीय बासिन्दा र प्रहरी चौकी भैँसेको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.१४ गण हेडक्वार्टर मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षक निबनकुमार खड्काको कमान्डमा ११ जनाको टोली बिहान ९ः०५ बजे घटनास्थलतर्फ परिचालन भएको थियो ।
गाउँपालिका-१ भैँसे नजिक त्रिभुवन राजपथमा बिहीबार बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो गाडी सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।