
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बिहीबार बिहान ८ः५५ बजे ना.१ ज २१४३ नम्बरको सुमो गाडी सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।
चालकसहित सुमोमा सवार १० जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । मृतकको पहिचान भने खुल्न सकेको छैन।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीयवासी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.१४ गण मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।