झापामा धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दियोपोस्ट संवाददाता

झापा । झापाको बाह्रदशी गाउँपालिका-५ खटखटी टोलस्थित चारपाने-राजगढ भित्री सडकखण्डमा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति करिब १०ः४० बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

प्रहरीका अनुसार राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३-००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी एकआपसमा ठोक्किएका थिए ।

मृतक दुवै पुरुष अन्दाजी ३० देखि ३५ वर्ष उमेरका रहेको बताइएको छ । स्थानीयले उनीहरू बाह्रदशी-५ चकचकी क्षेत्रका बासिन्दा हुन सक्ने प्रहरीको भनाई छ ।

दुर्घटनापछि धान काट्ने मेसिनका चालक सवारीसाधन छाडेर फरार भएका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । बुधबार राति करिब १२ः४५ बजे शव अस्पताल पठाइएको मुलुकी खबरले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस