काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारले गरेको निर्णय विरुद्ध दायर गरेकाे रिट निवेदनमा बुधवार प्रारम्भिक सुनुवाइ हुँदै छ । गत कार्तिक १८ गते मन्त्रिपरिषद्ले तत्कालीन प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा बढुवा गर्ने निर्णय गरेको विरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाइए पनि हाजिर नभई हाल अदालत पुगेका कार्कीले सर्वोच्च अदालतका न्यायधीशहरुलाई प्रभावमा पार्ने उद्देश्यले दौडधुप गरेको भेटिएको छ । मङ्गलवार दिनभर उनी क्यासिनो क्षेत्र कहलिएका व्यक्ति तप्त बहादुर विष्ट र सुरेन्द्र सिंहलाई लिएर सर्वोच्च अदालतमा सेटिङ गर्न हिँडेको भेटिएको छ । दियो पोस्टलाई प्राप्त सूचना अनुसार कार्कीले सर्वोच्च अदालतका न्यायाधीशको अपमान हुने गरी विष्ट मार्फत मोलतोल गरेका छन् । हालै मात्र न्यायाधीश भएका एक पाण्डे थरका न्यायाधीशलाई आफूले मिलाउन सक्ने भन्दै क्यासिनो किङ विष्टले इजलास नै बस्न नपाएका न्यायाधीशको बदनामी गरेका छन् ।
पछिल्लो समय कार्कीले क्यासिनो किङ भनेर चिनिने विष्ट र अर्का व्यक्ति सुरेन्द्र सिंहलाई लिएर भ्रष्टाचार मुद्दा लागेका पूर्व डिएसपी रमेश बहादुर सिंहको बुढानीलकण्ठस्थित घरमा नियमित भेटघाट र सेटिङ भइरहेको स्रोतले दियो पोस्टलाई बताएको छ । त्यसो त विष्ट र सुरेन्द्र सिंह दुवै जना आइजी कार्की पदमा रहँदा उनको सरकारी निवास नक्सालमै नियमित
आउजाउ गर्ने पात्र हुन् । कार्कीले विष्टलाई दाइ भनेर सम्बोधन गर्ने गरेका छन् ।
मङ्गलवार भएको एक गोप्य भेटमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश शारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमान तथा जनक पाण्डेसहितको पूर्ण इजलास गठन गर्न आफ्नो पहल हुने विष्टले बताएको स्रोतले बताएको छ ।
त्यसो त कार्कीले सर्वोच्च अदालतकै केही न्यायाधीश र इनम सापकोटा जोडिएको भनिएको फर्जी प्रमाण समेत बनाएर ब्ल्याकमेलिङ गरिरहेको दियो पोस्टको सम्पर्कमा आएका ती न्यायाधीशले बताएका छन् । इनमसँगको सम्बन्ध बाहिर ल्याइदिने भन्दै कार्कीले सर्वोच्चका केही न्यायाधीशलाई आफ्नो मुद्दामा सहयोग गर्न ब्ल्याकमेलिङ गरिरहेका छन् । उनको
ब्ल्याकमेलिङबाट आजित भएका ती न्यायाधीशले आफूलाई मानसिक तनाव दिएको बताउने गरेका छन् ।
अन्ना क्यासिनो सञ्चालनमा हुँदा विष्ट र सिंहले मजदुरमाथि चरम अन्याय गरेका थिए । क्यासिनोमा हुने विभिन्न अवैध धन्दामा उनीहरूको संलग्नता छ । अवैध रूपमा नेपाली प्रवेश गराएकाे अभियाेगमा उनी पटक पटक पक्राउ समेत परेका थिए ।
पूर्व महानिरीक्षक कार्कीलाई यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ छ ।