
सिन्धुली । जनकपुरबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक माइक्रोबस बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ पलासेस्थित बीपी राजमार्गमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो मधेस प्रदेश ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो । दुर्घटनामा माइक्रोबसमा सवार सबै १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ । घाइतेमध्ये नौ जनाको पहिचान खुलेको र बाँकी पाँच जनाको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको खबर प्राप्त भएपछि उद्धार तथा उपचारको व्यवस्था गरिएको थियो । दुर्घटनाको कारणबारे भने थप अनुसन्धान भइरहेको छ ।