२४ घण्टामा देशभर सवारी दुर्घटनामा १५ जनाको मृत्यु, १८९ जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । देशभर भएका विभिन्न सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने १८९ जना घाइते भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको  विवरण अनुसार, देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा यति मानवीय क्षति भएको हो ।

प्रहरीको तथ्यांक अनुसार बागमती प्रदेश, सुदूरपश्चिम र मधेश प्रदेशमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । बागमती प्रदेशमा दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशमा दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् भने २५ जना घाइते भएका छन् ।

त्यस्तै मधेश प्रदेशमा पनि ५ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । कोशी प्रदेशमा १ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा दुर्घटनामा परी १ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । गण्डकी प्रदेशमा यो अवधिमा कसैको मृत्यु नभए पनि सबैभन्दा धेरै ३६ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकाभित्र भएका दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि १४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा देशभर भएका दुर्घटनाहरूमा कुल १५ जनाको अकालमा मृत्यु भएको छ भने १८९ जना विभिन्न स्तरमा घाइते भएका छन् । घाइतेहरूको स्थानीय तथा विभिन्न क्षेत्रीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सडकको दुरावस्था, तीव्र गति र ट्राफिक नियमको उल्लंघनका कारण दुर्घटनाहरू बढिरहेको भन्दै प्रहरीले सवारी चालक तथा पैदलयात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

 

सम्बन्धित खबर

सिफारिस