एनपीएल : इलिमिनेटरमा आज चितवन र काठमाडौँ भिड्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज (बुधबार) इलिमिनेटरमा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । लिग चरणमा काठमाडौँ तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् ।

काठमाडौँले सात खेलबाट चार जितसहित आठ अंक जोडेको थियो । त्यस्तै, चितवनले तीन जित र एक नतिजाविहीन खेलबाट सात अंक हासिल गरेको थियो ।

आजको खेल जित्ने टोलीले भोलि हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । तर, आजको खेलमा पराजित हुने टोलीको प्रतियोगिताबाट यात्रा समाप्त हुनेछ ।

हिजो मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

अब दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खबर