एन्टिबायोटिकको चरम दुरुपयोग : औषधीले काम नै नगरी जान सक्छ ज्यान

अनु रेग्मी

जुम्ला । आधुनिक चिकित्सा विज्ञानमा एन्टिबायोटिक तथा अन्य सूक्ष्मजीवरोधी औषधिको खोज मानव स्वास्थ्यका क्षेत्रमा भएको युगान्तकारी उपलब्धिमध्ये एक हो । शल्यक्रिया, क्यान्सरको उपचार, अङ्ग प्रत्यारोपण तथा सामान्य सङ्क्रमणबाट हुने अकाल मृत्यु रोक्न यी औषधिहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

तर पछिल्ला वर्षहरूमा ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीजस्ता सूक्ष्म जीवहरूले औषधिको प्रभावबाट बच्ने क्षमता विकास गर्दै जाँदा विश्व जनस्वास्थ्यमा गम्भीर चुनौती थपिएको छ । यही अवस्थालाई वैज्ञानिक भाषामा एन्टिमाइक्रोबियल प्रतिरोध (सूक्ष्मजीवरोधी औषधि प्रतिरोध) भनिन्छ ।

यो समस्या कुनै एक देश वा स्वास्थ्य संस्थामा सीमित छैन । यसले आधुनिक चिकित्सा प्रणालीको प्रभावकारिता, स्वास्थ्य सेवाको गुणस्तर, आर्थिक सुरक्षा र मानव स्वास्थ्यको भविष्यलाई नै चुनौती दिइरहेको छ ।

कसरी उत्पन्न हुन्छ एन्टिमाइक्रोबियल प्रतिरोध ?

एन्टिमाइक्रोबियल औषधि भन्नाले मानिस, पशुपन्छी तथा अन्य जीवमा हुने सङ्क्रामक रोगहरूको उपचार तथा रोकथामका लागि प्रयोग गरिने औषधिहरूलाई बुझिन्छ । यसअन्तर्गत ब्याक्टेरियाविरुद्ध प्रयोग हुने एन्टिबायोटिक, भाइरसविरुद्ध प्रयोग हुने एन्टिभाइरल, ढुसीविरुद्ध प्रयोग हुने एन्टिफंगल तथा परजीवीविरुद्ध प्रयोग हुने एन्टिप्यारासाइटिक औषधिहरू पर्दछन् ।

जब सूक्ष्म जीवहरूले यी औषधिको प्रभावबाट बच्ने क्षमता विकास गर्छन् र सम्बन्धित औषधिले तिनीहरूलाई नष्ट गर्न वा वृद्धि रोक्न सक्दैन, तब प्रतिरोधको अवस्था सिर्जना हुन्छ ।

यहाँ बुझ्नुपर्ने महत्त्वपूर्ण वैज्ञानिक पक्ष के हो भने प्रतिरोध औषधिमा होइन, सूक्ष्मजीवमा विकास हुन्छ । औषधिको अनुचित तथा अत्यधिक प्रयोगले प्रतिरोधी सूक्ष्मजीवहरूको छनोट र फैलावटलाई बढवा दिन्छ ।

यसका प्रमुख कारणहरू निम्न छन् :

– भाइरल वा सामान्य रुघाखोकीजस्ता सङ्क्रमणमा आवश्यकताबिना एन्टिबायोटिक सेवन गर्नु ।
– चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्नु वा तोकिएको मात्रा र अवधि आफैँ परिवर्तन गर्नु ।
– पशुपालन, कृषि तथा मत्स्यपालनमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु ।
– अस्पतालमा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका उपाय प्रभावकारी रूपमा लागू नहुनु ।
– सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताको अपर्याप्तता ।
– गुणस्तरीय प्रयोगशाला परीक्षण र सही निदान सेवामा सीमित पहुँच ।

यसरी एन्टिमाइक्रोबियल प्रतिरोध प्राकृतिक जैविक प्रक्रिया भए पनि यसको तीव्र विकास र फैलावटमा मानवीय व्यवहार तथा स्वास्थ्य प्रणालीका कमजोरीहरूको ठुलो भूमिका रहन्छ ।

विश्वव्यापी अवस्था : तथ्याङ्कले देखाएको गम्भीर चुनौती

विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनका तथ्यांकले एन्टिमाइक्रोबियल प्रतिरोधको भयावह अवस्था उजागर गरेका छन् ।

४७ लाखभन्दा बढी मृत्यु : सन् २०२१ मा विश्वभर ब्याक्टेरियाजन्य औषधि प्रतिरोधसँग सम्बन्धित करिब ४७ लाख मृत्यु भएको अनुमान गरिएको थियो । तीमध्ये करिब ११ लाख मृत्यु प्रत्यक्ष रूपमा ब्याक्टेरियाजन्य औषधि प्रतिरोधका कारण भएका थिए ।

हरेक ६ सङ्क्रमणमध्ये १ प्रतिरोधी : सन् २०२३ मा प्रयोगशालाबाट पुष्टि भएका प्रत्येक ६ ब्याक्टेरियाजन्य सङ्क्रमणमध्ये करिब एउटा सङ्क्रमण एन्टिबायोटिक प्रतिरोधी पाइएको थियो ।

अनु रेग्मी, लेखिका ।

दक्षिण-पूर्वी एसियामा उच्च जोखिम : विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण-पूर्वी एसिया तथा पूर्वी भूमध्यसागरीय क्षेत्रमा एन्टिबायोटिक प्रतिरोधको दर उच्च रहेको छ । यी क्षेत्रका रिपोर्ट गरिएका सङ्क्रमणमध्ये करिब एक तिहाइमा प्रतिरोध देखिएको छ ।

रक्त सङ्क्रमणको जोखिम : ई. कोलाई र के. निमोनिया जस्ता ब्याक्टेरियामा औषधि प्रतिरोध बढ्दा रक्त सङ्क्रमण, अङ्ग विफलता तथा मृत्युको जोखिम बढ्न सक्छ ।

क्षयरोगमा चुनौती : बहुऔषधि प्रतिरोधी क्षयरोगले उपचारलाई लामो, जटिल र महँगो बनाएको छ । गोनोरिया, क्यान्डिडा र एस्परजिलसजस्ता अन्य सूक्ष्मजीवमा पनि औषधि प्रतिरोध विश्वव्यापी चुनौती बनेको छ ।

यी तथ्यांकले एन्टिमाइक्रोबियल प्रतिरोध कुनै भविष्यको सम्भावित संकट मात्र नभई वर्तमान जनस्वास्थ्यको वास्तविक समस्या भएको पुष्टि गर्छन् ।

औषधिको असन्तुलित प्रयोग र अनुसन्धानको खडेरी

एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न सही औषधिको छनोट अत्यन्त महत्त्वपूर्ण हुन्छ । यसै उद्देश्यले विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिकलाई पहुँच, निगरानी र आरक्षित गरी तीन समूहमा वर्गीकरण गरेको छ ।

पहुँच समूह : सामान्य सङ्क्रमणमा पहिलो रोजाइका रूपमा प्रयोग गर्न सिफारिस गरिने औषधि ।
निगरानी समूह : प्रतिरोध विकासको जोखिम बढी भएकाले विशेष निगरानी आवश्यक पर्ने औषधि ।
आरक्षित समूह : बहुऔषधि प्रतिरोधी सङ्क्रमणजस्ता विशेष अवस्थामा मात्र प्रयोग गर्नुपर्ने औषधि ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा विश्वभर प्रयोग भएका एन्टिबायोटिकमध्ये पहुँच समूहका औषधिको हिस्सा ५३ प्रतिशत मात्र थियो भने निगरानी समूहका औषधिको हिस्सा करिब ४५ प्रतिशत पुगेको थियो ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म विश्वव्यापी मानव एन्टिबायोटिक प्रयोगको कम्तीमा ७० प्रतिशत हिस्सा पहुँच समूहका औषधिबाट हुनुपर्ने लक्ष्य निर्धारण गरेको छ ।

यसैबिच, औषधि प्रतिरोधी सूक्ष्मजीवविरुद्ध प्रभावकारी नयाँ एन्टिबायोटिक, खोप तथा निदान प्रविधिको अनुसन्धान र विकासमा पर्याप्त लगानी हुन नसक्नु अर्को गम्भीर चुनौती हो । यसले भविष्यमा चिकित्सकहरूसँग उपलब्ध उपचारका विकल्प सीमित हुने जोखिम बढाएको छ ।

आर्थिक तथा सामाजिक प्रभाव

एन्टिमाइक्रोबियल प्रतिरोधले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार, स्वास्थ्य संस्था र राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पार्छ ।

प्रतिरोधी सङ्क्रमण भएका बिरामीलाई लामो समय अस्पतालमा राख्नुपर्ने, महँगा वैकल्पिक औषधि प्रयोग गर्नुपर्ने तथा थप प्रयोगशाला परीक्षण गर्नुपर्ने हुन सक्छ ।

यसका प्रमुख प्रभावहरू हुन् :
– उपचार खर्चमा उल्लेखनीय वृद्धि ।
– बिरामी तथा परिवारका सदस्यको उत्पादकत्वमा कमी ।
– स्वास्थ्य संस्थाको सेवा प्रवाहमा आर्थिक दबाब ।
– गरिब तथा विपन्न परिवारको स्वास्थ्य सेवामा पहुँच र वित्तीय सुरक्षामा थप चुनौती ।
– पशुधन उत्पादन तथा खाद्य सुरक्षामा नकारात्मक असर ।

अन्तर्राष्ट्रिय अध्ययनहरूले औषधि प्रतिरोधका कारण आगामी दशकहरूमा स्वास्थ्य खर्च तथा उत्पादकत्वमा ठुलो आर्थिक क्षति हुन सक्ने देखाएका छन् । त्यसैले यसको नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्र नभई आर्थिक तथा सामाजिक विकासको पनि महत्त्वपूर्ण विषय हो ।

स्वास्थ्य अवधारणा र आगामी विश्वव्यापी रणनीति

एन्टिमाइक्रोबियल प्रतिरोध मानव स्वास्थ्यको मात्र समस्या होइन । मानिस, पशुपन्छी, कृषि, खाद्य प्रणाली तथा वातावरणबिचको अन्तरसम्बन्धले यसको विकास र फैलावटलाई प्रभावित गर्छ ।

यसै कारण विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम तथा विश्व पशु स्वास्थ्य संगठनले एकीकृत एक स्वास्थ्य अवधारणा लाई प्राथमिकता दिएका छन् ।

यस अवधारणाका प्रमुख पक्षहरू निम्न छन् :

१. जनचेतना तथा व्यवहार परिवर्तन : समाजका सबै क्षेत्रमा एन्टिमाइक्रोबियल प्रतिरोधबारे सचेतना फैलाउने र औषधिको विवेकपूर्ण प्रयोगलाई प्रोत्साहन गर्ने ।
२. निगरानी प्रणालीको सुदृढीकरण : प्रयोगशाला तथा रोग निगरानी प्रणालीलाई प्रभावकारी बनाउँदै तथ्यमा आधारित नीति निर्माण गर्ने ।
३. सङ्क्रमण रोकथाम : अस्पताल, कृषि फार्म तथा समुदायमा सरसफाइ, खोप र सङ्क्रमण नियन्त्रणका उपाय विस्तार गर्ने ।
४. समान पहुँच तथा नियमन : गुणस्तरीय औषधि र निदान सेवामा न्यायोचित पहुँच सुनिश्चित गर्ने तथा जथाभाबी औषधि बिक्री वितरण नियन्त्रण गर्ने ।
५. अनुसन्धान तथा नवीनता : नयाँ एन्टिबायोटिक, खोप तथा द्रुत निदान प्रविधिको अनुसन्धान र विकासलाई प्रोत्साहन गर्ने ।
६. बहुक्षेत्रीय सुशासन तथा उत्तरदायित्व : मानव, पशु तथा वातावरणीय स्वास्थ्य क्षेत्रबिच समन्वय, सहकार्य र दिगो लगानी सुनिश्चित गर्ने ।

यसै सन्दर्भमा सन् २०२६-२०३६ का लागि अद्यावधिक विश्वव्यापी कार्य योजना अघि बढाइएको छ । यसको एउटा महत्त्वपूर्ण लक्ष्य सन् २०३० सम्म सन् २०१९ को आधाररेखाको तुलनामा ब्याक्टेरियाजन्य औषधि प्रतिरोधसँग सम्बन्धित मानव मृत्युमा १० प्रतिशत कमी ल्याउनु हो ।

नेपालमा एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रण किन प्राथमिकतामा पर्नुपर्छ ?

नेपालजस्तो विकासोन्मुख देशमा एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रण जनस्वास्थ्यको महत्त्वपूर्ण प्राथमिकता बन्नुपर्छ ।

बिना चिकित्सकीय सिफारिस एन्टिबायोटिक बिक्री वितरण, औषधिको जथाभाबी प्रयोग, अस्पतालमा सङ्क्रमण नियन्त्रणका अभ्यासमा असमानता तथा गुणस्तरीय प्रयोगशाला सेवामा सीमित पहुँचले समस्या थप जटिल बनाउन सक्छ ।
विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा, तालिमप्राप्त जनशक्ति र औषधिको तर्कसंगत प्रयोग सुनिश्चित गर्नु चुनौतीपूर्ण हुन सक्छ ।

नेपालले यस समस्याको नियन्त्रणका लागि निम्न उपायलाई प्राथमिकता दिन आवश्यक छ :

औषधि नियमन : चिकित्सकीय सिफारिसबिना एन्टिबायोटिक बिक्री तथा सेवन गर्ने प्रवृत्तिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने ।
प्रयोगशाला सेवा विस्तार : कल्चर तथा औषधि संवेदनशीलता परीक्षणको पहुँच विस्तार गर्ने ।
अस्पतालमा औषधि व्यवस्थापन: एन्टिबायोटिकको सही छनोट, मात्रा र अवधिको प्रयोग सुनिश्चित गर्ने ।
सङ्क्रमण रोकथाम : हातको स्वच्छता, सुरक्षित खानेपानी, सरसफाइ तथा खोप कार्यक्रमलाई सुदृढ बनाउने ।
पशु तथा वातावरणीय स्वास्थ्य : पशुपालन, कृषि तथा औषधिजन्य फोहोर व्यवस्थापनमा जिम्मेवार अभ्यास अपनाउने ।
अनुसन्धान तथा निगरानी : स्थानीयदेखि राष्ट्रिय स्तरसम्म औषधि प्रतिरोधको अवस्था, औषधि प्रयोगको प्रवृत्ति तथा आर्थिक प्रभावबारे अनुसन्धान गर्ने ।
एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रण सबैको साझा जिम्मेवारी
एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रण केवल चिकित्सक, फर्मासिस्ट वा स्वास्थ्य संस्थाको जिम्मेवारी मात्रै होइन । यसमा प्रत्येक नागरिकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

त्यसका लागि प्रत्येक नागरिकले यी व्यवहार अपनाउनै पर्छ :

– चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्ने ।
– सामान्य रुघाखोकी तथा भाइरल सङ्क्रमणमा अनावश्यक एन्टिबायोटिक माग नगर्ने ।
– चिकित्सकले निर्धारण गरेको मात्रा र अवधिअनुसार औषधि सेवन गर्ने ।
– बाँकी रहेको एन्टिबायोटिक अरूलाई नदिने तथा आफूखुसी पुनः प्रयोग नगर्ने ।
– नियमित हात धुने र व्यक्तिगत तथा वातावरणीय सरसफाइ कायम गर्ने ।
– सङ्क्रमणबाट बच्न आवश्यक खोप लगाउने ।
– पशुपालन तथा कृषि क्षेत्रमा एन्टिमाइक्रोबियल औषधिको जिम्मेवार प्रयोग गर्ने ।

आज जिम्मेवार नबने भोलि उपचार नै अनिश्चित

एन्टिमाइक्रोबियल औषधिहरू आधुनिक चिकित्साका अमूल्य उपलब्धि हुन् । तर तिनको प्रभावकारिता सधैँ कायम रहन्छ भन्ने सुनिश्चित छैन । औषधिको दुरुपयोग, कमजोर सङ्क्रमण नियन्त्रण तथा बहुक्षेत्रीय समन्वयको अभावले सामान्य सङ्क्रमणको उपचारसमेत भविष्यमा जटिल बनाउन सक्छ ।

यस चुनौतीको सामना गर्न औषधिको विवेकपूर्ण प्रयोग, सङ्क्रमण रोकथाम, गुणस्तरीय निदान, प्रभावकारी निगरानी तथा एक स्वास्थ्य अवधारणामा आधारित नीति र कार्यक्रम अपरिहार्य छन् ।

नेपालले पनि एन्टिमाइक्रोबियल प्रतिरोधलाई केवल औषधि प्रयोगको समस्या नभई स्वास्थ्य प्रणालीको गुणस्तर, वित्तीय सुरक्षा, खाद्य सुरक्षा र दिगो विकाससँग जोडिएको राष्ट्रिय जनस्वास्थ्य चुनौतीका रूपमा लिन आवश्यक छ ।

एन्टिबायोटिकको प्रभावकारिता जोगाउनु भनेको आजको बिरामी मात्र होइन, भोलिका पुस्ताको उपचार पाउने अधिकारसमेत सुरक्षित गर्नु हो ।

(लेखिका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपप्राध्यापक छिन् ।)

सम्बन्धित खबर