हस्ताक्षर किर्ते गरेर गाउँसभा गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

दियोपोस्ट संवाददाता

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई बसबरिया गाउँपालिका-१ स्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

५५ वर्षीय रायमाथि गाउँसभाको माइन्युटमा अनुपस्थित वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोप छ । प्रहरीका अनुसार २०८० साल असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न आयोजित गाउँसभामा सहभागी नभएकी एक वडा सदस्यको हस्ताक्षर नक्कली रूपमा प्रयोग गरी गाउँसभा सम्पन्न भएको देखाइएको थियो ।

सोही हस्ताक्षरका आधारमा गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो । उजुरीपछि प्रहरीले सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ साल असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले रायलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वेदप्रसाद गौतमले अध्यक्ष रायलाई किर्ते मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी दिए ।

उनी स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ६९ अनुसार तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको ५० प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा गणपूरक सङ्ख्या पुगेको मानिन्छ । सभाको बैठकमा बहुमतबाट निर्णय हुने व्यवस्था छ ।

त्यसैले गाउँसभामा सदस्यको वास्तविक उपस्थिति, बैठकको माइन्युट र निर्णय प्रक्रियासम्बन्धी अभिलेखले विशेष महत्व राख्छन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ मा कीर्ते गर्न नहुने व्यवस्था छ । उक्त दफाअनुसार कसैलाई हानि पुर्‍याउने वा आफू अथवा अरूलाई लाभ पुर्‍याउने नियतले झुटो लिखत तयार गर्नु कीर्ते कसुर मानिन्छ । अन्य सरकारी वा सार्वजनिक लिखत कीर्ते गरेको कसुर प्रमाणित भएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।

 

सम्बन्धित खबर

सिफारिस