प्रहरी महानिरीक्षकमा पुनर्बहालीको माग गर्दै दायर रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट ‘सरुवा’ गरेर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार सर्वोच्च अदालतले न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकेको हो ।

पूर्व प्रहरी महानिरीक्षक कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै प्रहरी महानिरीक्षक पदमा पुनर्बहालीका लागि परमादेश समेतको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । कार्कीको रिटमा नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न/नगराउन अन्तरिम आदेशको समेत माग गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले डा. मनोज केसीलाई नयाँ आइजिपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा ‘सरुवा’ गरेको थियो । तर कार्की आफूलाई प्रहरी महानिरीक्षकमै पुनर्बहाली गर्नुपर्ने भन्दै रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

सम्बन्धित खबर

सिफारिस